सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारले यो वर्ष करिव ४ सय किसानलाई कृषि यन्त्रमा अनुदान दिने 

२०७९ मंसिर २९, १०:५७ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष प्रदेशमा करिव ४ सय किसानलाई कृषि यन्त्र खरिदमा अनुदान दिने भएको छ। प्रदेशका सबै जिल्लाका किसानलाई विभिन्न २८ किसिमका कृषि उपकरण प्रदान गर्न आवेदन संकलन गर्ने काम भइरहेको छ।

जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमा सम्बन्धित जिल्लाका किसानले कृषि यान्त्रीकरण अनुदानका लागि आवेदन पेश गर्न सक्ने प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। प्रदेश सरकारले यो वर्ष कृषि यान्त्रीकरण अनुदानका लागि ३ करोड ४० लाख बजेट छुट्याएको छ।

कृषि विकास निर्देशनालयबाट कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने सरकारको योजना छ। जसअनुसार गत कार्तिक ३० गते आवेदन पेश गर्न सूचना प्रकाशित गरिएको थियो। विभिन्न २८ किसिमका कृषि उपकरण खरिद गर्न सरकारले अनुदान दिने छ।

जसका लागि बिहीबारसम्म जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत आवेदन लिने काम भइरहेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए।’ बजेट कृषि विकास निर्देशनालयको हो, कार्यान्वयन पनि उसैले गर्ने हो,’ उनले भने, ’निर्देशनालयमा जानुपर्दा किसानको बढी खर्च हुने भएकाले कृषि ज्ञान केन्द्रमार्फत निवेदन लिने काम भइरहेको छ।’

कृषि निर्देशनालयले यो वर्ष प्राप्त भएको बजेटमा करिव ४ सय किसानलाई कृषि यान्त्रीकरणको अनुदान दिन सक्ने जनाएको छ। अनुदान प्राप्त गर्न व्यक्तिगत, कृषक समुह र उपभोक्ता समुहले दिएको निवेदनको मुल्यांकन गरेर किसानहरूलाई अनुदान उपलब्ध गराइने कृषि विकास निर्देशनालय दीपायल डोटीका सूचना अधिकारी केशव पाण्डेले बताए।

'पुस २९ सम्म निवेदन दिने समय छ,’ उनले भने, 'यो वर्ष करिव चार सय किसानलाई विभिन्न कृषि उपकरण खरिद गर्न अनुदान दिन सकिन्छ भन्ने अनुमान गरेका छौँ।’ यो वर्ष किसानले थप्नुपर्ने  रकमसमेत जोड्दा करिव ७ करोड मूल्यका कृषि उपकरण खरिद हुनेछन्।

आवेदनमा किसानले विभिन्न २८ उपकरणमध्ये कुन खरिद गर्न चाहेको हो त्यो खुलाउनु पर्नेछ। यो वर्ष प्रदेश सरकारले डिस्क ह्यारो, रोटाभेटर, पोटेटो प्लान्टर, पोटेटो हार्भेस्टर, सुपर सिडर, धान थ्रेसर, गहुँ थ्रेसर, मल्टिकप थ्रेसर, पावर टिलर, मिनि टिलरमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ।

यस्तै, रिपर, पोटेटो ड्रिगर, डिप टिलिङ ब्लेड, एन्टी र्याप ब्लेड, पिट डगर, विद्युतीय कर्न सेलर, बताउने पङ्खा, कोदो थ्रेसर, कम्बाइन राइस मिल, धान रोप्ने मसिनलगातका उपकरणमा किसानले अनुदान पाउने छन्। कृषि यान्त्रिकरण अनुदान परिचालन कार्यविधि–२०७६ अनुसार प्राप्त भएका निवेदनमध्ये योग्यलाई अनुदान दिइने सूचना अधिकारी पाण्डेले बताए।’

नौ जिल्लाबाट थुप्रै किसानको निवेदन आउने अनुमान गरेका छौँ तर प्राप्त निवेदन मध्ये कृषि यान्त्रिकरण अनुदान परिचालन कार्यविधि–२०७६ अनुसार छनोट भएका किसानले अनुदान पाउने छन्,’ पाण्डेले भने।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस