धनगढीमा साढे २८ लाख खर्चेर खरिद गरिएका उपकरण थन्किए
धनगढीः सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले गत वर्ष एक्सरे, भिडियो एक्सरे र इसिजी लगायत उपकरण खरिद गर्यो। राज्य कोषको साढे ६ लाख खर्चेर २०७८ बैशाखमा भिडियो एक्सरे, गत असारमा १८ लाख खर्चेर एक्सरे र करिव ४ लाख खर्चेर इसिजी खरिद गरिएको थियो। तर खरिद गरिएका कुनैपनि उपकरण प्रयोगमा छैनन्।
राज्य कोषको लाखौं रकम खर्चेर खरिद गरिएका उपकरण एक वर्षदेखि सञ्चालनमा नआउँदै काम नलाग्ने अवस्थामा पुगेको आशंका गरिएको छ। साढे २८ लाख मुल्यका ती उपकरण चिकित्सालयले अझै प्रयोगमा ल्याउन सकेको छैन्। चिकित्सलयको भवनमा उपकरण राख्न कोठा निर्माण गरिएको छ। कोठाभित्र उपकरण छन् तर बाहिरबाट भने ताला लगाइएको छ। हतारहतारमा उपकरण खरिद गरिएको भएपनि सञ्चालनमा कसैको चासो गएको छैन।
चिकित्सालयमा उपकरण चलाउने जनशक्ति समेत नहुँदा लाखौ खर्चेर खरिद गरिएका उपकरण उपयोगविहिन अवस्थामा छन्। चिकित्सालयका सूचना अधिकारी गजेन्द्रप्रसाद कुशवाहले उपकरणमा कुनै समस्या नभएको दाबी गरे। ‘उपकरण बिग्रेको नभएर जनशक्ति नभएर सञ्चालन गर्न नसकिएको हो। सफ्टवेयर अपडेट गर्नुपर्ने हुनसक्छ। तर उपकरण विग्रेको भन्ने कुरा सत्य होइन।’ उनले भने।
प्रदेश सरकारमातहतका निकाय र कार्यालयमा उपकरण र औजार खरिद तथा भवन निर्माणमा आवश्यक बजेट छुट्याएर खर्च गर्ने प्रवृत्ति देखिएको छ। तर उपकरण खरिद र भौतिक पूर्वाधार निर्माणपछि त्यसको सञ्चालनमा भने कसैको ध्यान जाने गरेको छैन्। उदाहरणको रुपमा प्रदेश आयुर्वेदिक चिकित्सालयमा खरिद गरेर प्रयोगमा नआएका स्वास्थ्य उपकरणलाई नै लिन सकिन्छ।
सूचना अधिकारी कुशवाहले केही दिनभित्र उपकरण प्रयोगमा ल्याउने गरी जनशक्ति व्यवस्थापन हुने बताए। ‘मन्त्रालयबाट ३५ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृत भएको छ। नयाँ जनशक्ति आउने बित्तिकै उपकरण प्रयोगमा आउने छन्।’ उनले भने।