कञ्चनपुरमा चौपाया गाडिएको भेटिएपछि आन्दोलन चर्कियो
धनगढीः कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको भेटिएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन्। छाडा चौपाया व्यवस्थापनको माग गर्दै स्थानीय आन्दोलित बनेका हुन्।
यसअघि मंगलबार बेदकोट–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका घेराउ गरेका छन्।जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयले नगर कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो। बिहान तनाव सिर्जना भएपनि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ।
वेदकोटमा तीन दिनदेखि छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरुले नगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरु पशुचौपायाले अन्नबाली खाएर हैरान बनाएको भन्दै उचित व्यवस्थापनको माग गरेका हुन्।
आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो। तर मंगलबार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ। तर, स्थानीयले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन्।