बाजुरामा मृत्यु भएका अयडीको ६ दिनपछि दाहसंस्कार
धनगढीः बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका युवकको ६ दिनपछि अन्तिम दाहसंस्कार गरिएको छ। आज (शुक्रबार) त्रिवेणी नगरपालिका वडा नम्बर ७ का सञ्जीव अयडीको दाहसंस्कार गरिएको हो।
मंसिर ४ मा त्रिवेणीस्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा उनको मृत्यु भएको थियो। आइतबार मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर अयडीको मृत्यु भएको हो।
यसअघि उनका आफन्तले मृतक अयडीको शव बुझेका थिएनन्। आजमात्रै (६ दिनपछि) मृतकको शव बुझेर दाहसंस्कार गरिएको बताइएको छ।
यस्तै सोही क्षेत्रमा भएको अर्को घटनामा मृत्यु भएका युवकको भने शव उठेको छैन्। काँग्रेस कार्यक्रताद्धारा हत्या गरिएका अनेरास्ववियुका नेता चेतन अयडीको शव नउठेको हो। अयडीको शव जिल्ला अस्पताल बाजुराको शवगृहमा राखिएको छ। उनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दे अनेरास्ववियू बाजुरा निरन्तर आन्दोलनरत छ।