बाजुरामा प्रहरीले यसकारण चलायो गोली
सदरमुकाम तनावग्रस्त
वीरेन्द्र भट्ट, धनगढीः आइतबार भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बन्यो। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव दिनभरी बढ्यो। एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालेर योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बन्न पुगेको प्रहरीको दाबी छ।
अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन चर्काएको हो। आन्दोलन चर्किदै गएपछि बाजुरा सदरमुकाममा थप १५० नेपाल प्रहरी ७० जना ससस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ।। यहाँ अस्वस्थ प्रतिस्पर्धा गर्ने उद्देश्यले दोहोरो झडप भएको प्रशासनले जनाएको छ।
अस्वस्थ प्रतिस्पर्धा गर्ने उद्देश्यले मतदानको अन्तिम चरणमा अराजक गतिविधि बढेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। ‘दोहोरो झडपलाई साम्य पार्न प्रहरीले सम्झाईबुझाई गर्दा उल्टै हतियार खोस्ने प्रयास भएपछि गोली चलेको हो, अहिले स्थिति सामान्य भइसकेको छ, पिडीतको पक्षबाट जाहेरी आउने वित्तिकै घटनामा संलग्नलाई नियन्त्रणमा लिइन्छ।’
आइतबार मतदानका क्रममा त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको बताइएको छ। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो। तर, अस्पताल पुगाउने बित्तिकै मृत्यु भएको थियो।
नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई नै लिएर सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो। प्रहरीको हतियार नै खोस्ने प्रयास भएपछि गोली चलेको सुरक्षा अधिकारीको दाबी छ।
सुरक्षाकर्मी धेरै खटाइएको भएपनि सुरक्षाकर्मीभन्दा बढि अराजक गर्नेहरु भएकाले स्थिति नियन्त्रणमा लिन कठिन भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भोलाबहादुर रावलले बताए। ‘अहिले एक सय ५० नेपाल प्रहरी, ७० जना सशस्त्र प्रहरी र नेपाली सेना समेत सो क्षेत्रमा सुरक्षाका लागि परिचालित छन्। पिडित पक्षबाट जाहेरी आउनेक्रममै भएकाले थप अनुसन्धान अघि बढाइनेछ।’
विगतमा निष्पक्ष तथा स्वतन्त्र निर्वाचनको अभ्यासविपरीत धाँधली, बुथ कब्जा र फर्जी मतदान गर्ने होडबाजी हुँदै आएको बाजुरामा सुरक्षा निकायका अधिकारीले मतदानस्थको अनुगमन गरेका थिए। अनुगमनमा नेपाली सेनाको सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा, सुदूरपश्चिम प्रदेश सचिव नारायणप्रसाद दुवाडी शर्मा, प्रहरी नायब महानिरीक्षक मोहन आचार्य, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराईको टोलीले विभिन्न मतदानस्थलको अनुगमन गरेको थियो।
तर त्यही स्थानमा अस्वभाविक रुपमा घटना घटेको प्रशासनले बताएको छ। वैशाखका भएको स्थानीय तह निर्वाचनमा बुथ कब्जाका घटना भएपछि आयोगले पुनः मतदान गराउनुपरेको थियो। दोहोरो झडपका क्रममा थप सुरक्षाकर्मी परिचालन गर्न ढिलाई हुँदा स्थिति नियन्त्रण बाहिर गएको सुरक्षा अधिकारीले बताएका छन्।
बाजुरामा कमजोर पक्षलाई मतदानस्थलबाट लखेटेर एकलौटी मतदान गर्ने चलन गत स्थानीय निर्वाचनसम्म पनि कायमै रहेको इतिहास छ। फर्जी मत खसाल्न रोक्ने मतदान अधिकृत वा अन्य कर्मचारीलाई धम्की दिएर चुप गराउनु बाजुरामा ‘सामान्य’ मानिन्छ।
२२ जनाविरुद्ध जाहेरी
त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए।