सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा प्रकरणः आन्दोलनकारीले खोसेको प्रहरीको राइफल भेटियो

२०७९ मंसिर ६, ०४:०६ खबर संवाददाता

धनगढीः बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा मतदान चलिरहँदा प्रहरी र स्थानीयको झडप भयो। मङ्सिर ४ मा नाटेश्वरी मतदान केन्द्रमा झडपको क्रममा एक युवकले प्रहरीको इन्सास राइफल खोसेर भागे।

अनि, प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा मृत्यु भयो। सन्दीपको शव अझै घटनास्थलमा छ। उनी वडा नम्बर–७ का स्थानीय हुन्। त्यही झडप गर्नेहरूले खोसेर लगेको प्रहरीको राइफल भेटिएको छ। घटनास्थल नजिकै फालेको अवस्थामा राइफल भेटिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए।

नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा ३ जना स्थानीय र प्रहरी सहायक हवल्दार कृष्ण कुँवर घाइते भएका थिए। तर, सो घटना भएको केही समयपछि त्यहाँ फेरी अर्को घटना भयो। १५–२० जनाको समूहले मतदानस्थलमा नेकपा एमालेको प्रतिनिधि खटिएका चेतन ऐडीलाई लखेटेर कुट्न थाले।

अनेरास्ववियुका सचिवालय सदस्यसमेत रहेका चेतनलाई मरणासन्न हुने गरी कुटेपछि सो समूहले मतदान केन्द्रभन्दा पर जंगलछेउमा लगेर छोडेको एमालेका स्थायी समिति सदस्य कर्ण थापाले बताए। बाजुराबाट प्रतिनिधिसभातर्फ चुनावी प्रतिस्पर्धामा रहेका थापाले भने–‘राति फेरी खोज्दै गएर घरमा निर्घात कुटेर हत्या गरिएको छ, लगातार हामीले खबर गर्दा पनि रोक्ने र उद्धार गर्ने काम भएन।’

लखेट्दै कुटेर जंगलछेउमा छाडिएका चेतनलाई विद्यार्थी संगठनमा कार्यरत सुजाता ऐडीले घरसम्म लगेकी हुन्। छिमेकीको घरमा ताला लगाएर लुकाएपनि कांग्रेसका कार्यकर्ताले थुतेर निर्घात कुटपिट गरेको एमाले नेता कर्णले जिकिर गरेका छन्। राति १० बजेतिर सेनाले गाडीले उनलाई अछामस्थित बयलपाटा अस्पतालमा लगेर छाड्यो। त्यही राति उनको मृत्यु भयो।

बाजुरामा प्रतिनिधिसभातर्फ कर्ण थापासँग नेपाली कांग्रेसका बद्री पाण्डे प्रतिस्पर्धामा छन्।

कमेन्ट लोड गर्नुस