बाजुरा हत्या प्रकरण: २२ जना विरुद्ध किटानी जाहेरी
बाजुराः बाजुराको त्रिवेणी नगरपालिकामा–७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ। ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले बताए।
मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए। मतदान सकिएपछि कांग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमालेको दाबी छ। अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यहि राति मृत्यु भएको थियो।
उनको शव अहिले अस्पतालमा छ। हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने बताइएको छ। निर्वाचनको दिन प्रहरीको गोली लागेर ज्यान गुमाएका २६ वर्षीय सन्दिप ऐडीको पनि शव उठाइएको छैन्।
सन्दिपको शव घटनास्थलमा नै रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। गोली लागेर मृत्यु भएका सन्दिप वडा नम्बर–९ स्थित रत्नावती माविमा कार्यरत शिक्षक मानबहादुर ऐडी छोरा हुन्।