बाजुरा घटनाः चेतन र सञ्जीवको शव अझै उठेन
धनगढीः बाजुराको त्रिवेणी नगरपालिका ७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन। मतदान केन्द्रमा तनाव भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी(७ का सञ्जीव अयडी र चेतन अयडीको मृत्यु भएको थियो।
सञ्जीवको शव नाट्यश्वरी विद्यालयमै रहेको छ भने चेतनको शव बयलपाटा अस्पतालमा रहेको छ। चेतन अनेरास्ववियूका स्थानीय नेता हुन्। उनको अछामको वयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। कांग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो। सञ्जीवको छातीमा गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। सञ्जीवको मृत्युपछि आवेगमा आएका कांग्रेस कार्यकर्ताले चेतनलाई घरमा गएर कुटपिट गरेका थिए।
मतदान केन्द्रमा भएको झडपमा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका थिए। घाइते हुनेमा स्थानीय पर्शुराम पाध्याया र खडक अयडी छन्। प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अनुसार शव उठाउन पहल भइरहेको मंगलबार यसको निकास आउने बताए।