प्रधानमन्त्रीको गृहजिल्लामा आजबाट मतगणना हुने, सबै मतपेटिका अझै पुगेनन
डडेल्धुराः डडेल्धुरामा सोमबारबाट मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो भएकाले मतगणना सोमबार बिहानबाट सुरु हुने भएको हो।
जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिकालगायतका टाढाका मत पेटिकाहरू आउन ढिलो भएको हो। निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख माधव प्रसाद फुयाँलका अनुसार जोगबुढा क्षेत्रबाट मतपेटीका बोकेको गाडी खोलामा फसेको थियो। सोमबार बिहान मतपेटीका बोकेको गाडी पुग्ने र सर्व दलिय बैठकपछि मतगणना सुरु हुने उनले बताए।
प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको छ। जिल्लामा ९१ हजार २ सय १ जम्मा मतदातामध्ये ५१ हजार ६ सय ६० मत खसेको हो।
प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।
प्रदेशसभा–१ मा गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत उम्मेदवार छन्।
जिल्लाको प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी, नवराज धिक्तलगायत उम्मेदवार छन्।