सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश कमाण्ड पोष्टद्वारा बाजुरामा चुनाव लक्षित अनुगमन

२०७९ मंसिर २, ०७:३६ खबर संवाददाता

बाजुरा: सुदूरपश्चिम प्रदेश कमाण्ड पोष्टले बाजुरामा चुनाव लक्षित अनुगमन गरेको छ। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा चुनावलाई लक्षित गरी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद दुवाडी शर्मा नेतृत्वको कमाण्ड पोष्टले बाजुराको शान्ति सुरक्षाका बारेमा अनुगमन गरेको हो।

स्थानीय चुनावमा जिल्लाको बुढीगंगामा धाधली भएको भन्दै दोस्रो पटक चुनाव गरिएको थियो। बाजुरा अतिसंवेदनशील जिल्लाका रुपमा रहेको छ। जिल्लामा शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखले अनुगमन गरेका हुन्। टोलिमा सुदूरपश्चिम पृतना हेडक्वाटरका उपरथी विजय थापा, प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव माहानिरीक्षक मोहन आचार्य र शसस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विश्वकुमार भट्टराईको पनि सहभागिता थियो।

बाजुरामा मतदान केन्द्रहरुको बस्तुस्थितिबारे जानकारी लिन पुगेको सेनाले बताएको छ। बाजुराको बुढीगंगा नगरपालिकास्थित नेपाली सेनाको सुरक्षा वेशमा निरीक्षण समेत गरिएको थियो। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न अनुमगन तथा निरीक्षण गरिएको नेपाली सेना श्री दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी दिवाकर खड्काले बताए।

निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, नेपाली सेना सुरक्षा वेश कमाण्डर सेनानी प्रेमबहादुर खत्रीले समसामयिक घटना तथा फौज परिचालन सम्बन्धी जानकारी गराएका थिए। दुर्गाभञ्जन गुल्मबाट निर्वाचन सुरक्षार्थ जिल्लाको विभिन्न स्थानहरुमा विगत एक महिनादेखि सुरक्षा सम्बन्धी विभिन्न क्रियकलापहरु सञ्चालन गर्दै आएको छ।

जिल्लाको भौगोलिक स्थिति, विद्यमान राजनैतिक तथा सुरक्षा स्थितिबारे छलफल तथा सुक्ष्म विश्लेषण गरिएको थियो। प्रमुख सचिव र पृतनापतिद्वारा सम्पूर्ण जिल्ला सुरक्षा समिति तथा खटिएका फौजहरुलाई विशेष निर्देशन दिएको सेनानी दिवाकर खड्काले बताए।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई सदस्यको निर्वाचन हुने बाजुरामा ७० मतदान स्थलमा एक सय १२ मतदान केन्द्र कायम भएका छन्। बाजुरामा महिला ४० हजार पाँच सय ३७, पुरुष ४२ हजार एक सय ५१ र अन्य दुई गरी जम्मा ८२ हजार आठ सय ९० मतदाता रहेका छन्।

जिल्लाका ४३ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा रहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले दिएको जानकारी अनुसार जिल्लाका जम्मा ७० मध्ये ४३ लाईअति संवेदनशील मतदानस्थल मानिएको छ। यस्तै २३ संवेदनशील मतदानस्थल रहेका बिष्टले बताए।

उनका अनुसार ७० मध्ये चार मतदानस्थल मात्रै सामान्य अवस्थाका छन्। सहायक प्रमुख जिल्ला अधिकारी बिष्टका अनुसार नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी करिब दुई हजार सुरक्षाकर्मी चुनावका लागि खटिनेछन्।

कमेन्ट लोड गर्नुस