चुनाव बिथोल्न सुदूरपश्चिमका सीमा नाकाबाट हतियार भित्रिने त्रास
धनगढीः कैलाली जिल्लाभित्र पर्ने नेपाल–भारत सीमा क्षेत्रमा १८ वटा बिओपी छन्। कञ्चनपुरमा २० वटा बिओपी छन्। एक बिओपीमा झण्डै १० जना सशस्त्र प्रहरी तैनाथ छन्। सीमा क्षेत्रमा गस्ती गर्दै आएका सशस्त्र प्रहरी चुनाव सुरक्षामा छन्। सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या कम रहेको मौकामा अवैध हतियार भित्रिने चिन्ता गरिएको छ।
नेपाल र भारतको सीमाना खुल्ला भएकाले चुनाव बिथोल्न हतियार भित्र्ने सक्ने आंशका गरिएको छ। सशस्त्र प्रहरी कञ्चनपुरका एसपी अमर ऐरले चुनावी बिथोल्न साना हतियार भित्रिने डर रहेको बताए। उनले भने, ‘गैरकानुनी हातहतीयार भित्र्याउछन कि भन्ने डर हो। बिस्पोटक पदार्थ, साना हतियारहरु भित्र्याउछन् कि भन्ने हो। हामीले यसैलाई बढी प्राथामिक्ता दिएका छौ। सोही निर्देशन गरेका छौ।’
भारतबाट अन्य समयमा पनि तस्करी हुँदै आएको छ। अन्य सामाग्रीसँगै हतियार पनि भित्रिने आंशका गरिएको हो। निर्वाचनमा सीमा क्षेत्रका सुरक्षाकर्मी कम हुन्छन्। सुरक्षाकर्मीको संख्या कम भएका बेला अवैध गतिविधि झन बढ्ने चिन्ता गरिएको छ। एसपी ऐनका अनुरा सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीको जनशक्ति कर्णाली प्रदेश गएको छ।
मंसिर १ गते राति १२ बजेदेखि नेपालसँग जोडिएका सीमा नाकाहरु पूर्ण रुपमा बन्द हुँदैछन्। सीमाबाट एम्बुलेन्स लगाएतका अति आवश्यक बाहेकका समाग्री भित्रिदैनन्। सीमा क्षेत्रमा चहलपहल नभएका बेला अपराधिक गतिविधि हुने आशंका गरिएको छ। सोही कारण नेपाल र भारतका सुरक्षाकर्मीहरुको संयुक्त गस्तीको योजना पनि छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा क्षेत्रमा संयुक्त गस्तीका लागि सहमती भएको बताए। उनले भने, ‘चुनावमा पनि उहाँहरु खटिनु हुन्छ। गस्तीपनि गर्नुहुन्छ। काउण्टर पार्टको बैठकमा पनि संयुक्त गस्ती गर्ने सहमती भएको छ।’ सुदूरपश्चिम प्रदेशका सीमानाकाबाट हतियारसहित अन्य अवैध सामाग्री आयातको जोखिम रहेको हो।