सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारमा ६१५ कैदी, ३४ जनाले मात्र मतदान गर्न पाउने 

२०७९ कार्तिक २९, १०:४६ कमल सावद

धनगढीः जिल्ला कारागार कैलालीमा सोमबार दिउँसोसम्म ६ सय १५ कैदी छन्। उनीहरु मध्ये ३४ जनाको मात्र मतदाता नामावलीमा नाम छ।

अस्थायी मतदान केन्द्रबाट सामानुपातिक मतदानको अधिकार पहिलो पटक कार्यान्वयन हुँदैछ। तर जिल्ला कारागारका एक महिलासहित ३४ जनाले मात्र मतदान गर्न पाउने भएका छन्। जिल्ला कारागार कैलालीका जेलर वीरेन्द्र बोहराले कैदीहरुको मतदाता नामावलीमा नाम नरहेकोले ३४ जनाले मात्र मतदान गर्न पाउने भएका बताए। 

कैदीहरुले कारागारकै अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन्। जिल्ला कारागारमा बच्चासहित ४० महिला र पाँच सय ७५ पुरुष कैदी छन्। उनीहरुमा ३४ जनाको मात्र मतदाता नामावलीमा नाम रहेको हो। लामो समयदेखि कारागारमा रहेकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएका हुन्। बोहराले भने, ‘१०–१५ वर्षदेखि कारागारमै छन्। मतदाता नामावलीमा नाम छैन।’

धनगढी उपमहानगरपालिकाको कार्यालय एक हजार आठ सय ५०, गोदावरी नगरपालिका २ वनदेवी मन्दिरमा एक सय ६, गोदावरी–४ को महादेव मन्दिरमा दुई सय २०, गौरीगंगा–६ मा एक सय ५५, गौरीगंगा–८ मा ६ सय ७३, लम्कीचुहा–३ मा २ सय ९०, टीकापुर–१ मा एक हजार एक सय ७२ र कारागारमा ३४ जनाले मतदान गर्ने भएका हुन्।

प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेम भट्टले जिल्लामा चार हजार पाँच सयले मतदान गर्ने बताए। प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ। निर्वाचन आयोगले मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि धनगढीसहित ८ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिने भएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस