सुदूर नेपाललाई विश्वसँग जोड्दै

जी–२० शिखर सम्मेलन इन्डोनेसियाको बालीमा सुरु हुँदै

२०७९ कार्तिक २९, ०७:५४

एजेन्सी: विश्वका ठूला र आर्थिक रुपमा उदाउँदै गरेका देशहरुको समूह जी–२० को शिखर सम्मेलन आजदेखि इन्डोनेसियाको बालीमा सुरु हुँदैछ। सम्मेलनमा भाग लिन विभिन्न देशका प्रमुख इन्डोनेसिया पुगेका छन्।

‘रिकभर टुगेदर, रिकभर स्ट्रोङ्गर’ भन्ने मुख्य नाराका साथ शिखर सम्मेलन सुरु हुँदैछ। आज र भोलि हुने जी–२० नेताहरूको शिखर सम्मेलनमा विश्वव्यापी स्वास्थ्य संरचना, दिगो ऊर्जा सङ्क्रमण र डिजिटल रूपान्तरण गरी तीन वटा मुख्य प्राथमिकताका विषयमा छलफल केन्द्रित हुनेछ।

सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमण, बढ्दो खाद्य असुरक्षालगायतका विषयमा पनि छलफल हुनेछ। सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, चिनियाँ राष्ट्रपति सी जिन‍पिङ, बेलायती प्रधानमन्त्री ऋषि सुनक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत इन्डोनेसिया पुगेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्रमण स्थगित गरेर विदेशमन्त्री सर्गेइ लाभरोभलाई प्रतिनिधिका रुपमा पठाएका छन्। सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्तासमेत भएको छ। बालीमा तीन घण्टा लामो भेटवार्तामा शीर्ष दुई नेताबीच द्वन्द्व टार्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ।

यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनबाट सुरक्षित रूपमा खाद्यान्न ढुवानी गर्न रुससँग भएको सम्झौता विश्वको खाद्य सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। इन्डोनेसियाको बालीमा जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा उहाँले विश्वका धेरै ठाउँमा अनिकाल र भोकमरी हुन नदिन तत्काल कदम चाल्न आवश्यक रहेकोमा जोड दिएका छन्। 

कमेन्ट लोड गर्नुस