दिनहुँ २–३ किलो गाली खान्छु, त्यसले पोषण दिन्छः नरेन्द्र मोदी
एजेन्सीः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार तेलंगानामा सम्बोधन गर्ने क्रममा त्यहाँको राज्य सरकारलाई कडा निशाना बनाए। साथै सोही सम्बोधनमा उनले दैनिक दुई–तीन किलो गाली खाने गरेको तर त्यसले पौष्टिक तत्वको काम गर्ने बताए।
शनिबार हैदराबादको बेगमपेट एयरपोर्टमा भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘मानिसहरू मलाई सोध्ने गर्छन्, तपाई थाक्नु हुँदैन भनेर ? हिजो म बिहान दिल्लीमा थिएँ। त्यसपछि कर्नाटक, तमिलनाडु, आन्ध्र हुँदै अहिले तेलंगानामा छु। तिनलाई म भनिदिन्छु, म दिनहुँ दुई ढाई किलो गाली खान्छु र भगवानले मभित्र यस्तो क्षमता दिनु भएको छ कि ती सबै गालीहरू प्रशोधन भएर पोषणमा बदलिन्छ।’
मोदीले तेलंगाना नेशनल कमिटी (टीआरएस) का नेता र मुख्यमन्त्री चन्द्रशेखर रावको नाम नलिई रावले डर र निराशाका कारण हरेक दिन आफूमाथि हमला गर्ने गरेको बताए। ‘उनीहरू मविरुद्ध विरुद्ध प्रयोग गर्न गालीको शब्दकोश प्रकाशित गर्छन्। म भाजपा कार्यकर्ताहरूलाई यस्ता बयानबाजीबाट दुखी नहुन वा नरिसाउन अनुरोध गर्दछु। बस आनन्द लिनुहोस् र आशाका साथ सुत्नुस्। अर्को दिन अन्धकार हट्नेछ र कमल फुल्नेछ,’ प्रधानमन्त्री मोदीले भने।
प्रधानमन्त्री मोदीले उनको सम्बोधनमा परिवारवादको मुद्दा पनि उठाएका थिए। भाजपाले पहिलेदेखि टीआरएसलाई नातावादको आरोप लगाउदै आएको छ। ‘भ्रष्टाचार र परिवारवाद गरिबको सबैभन्दा ठूलो शत्रु हो, साथै यो विकासको सबैभन्दा ठूलो शत्रु हो। त्यसैले भाजपाले भ्रष्टाचार र परिवारवाद दुवैको विरुद्धमा निरन्तर अडान लिइरहेको छ। तेलंगानालाई अहिले परिवारवादको सट्टा विकास चाहिएको छ,’ मोदीले भने।
उता टीआरएस विधायक र मुख्यमन्त्री चन्द्रशेखर रावकी छोरी कलवकुन्तला कविताले शनिबार पीएम मोदीलाई राज्यको लागि ठोस घोषणा नगरेको आरोप लगाइन्। ‘आज तेलंगाना आएका प्रधानमन्त्री मोदीले यस राज्यको विकासमा केन्द्रको के योगदान छ भनेर बताउन असफल भए। मुख्यमन्त्रीले विगत आठ वर्षदेखि यही प्रश्न गर्दै आएका छन्, केन्द्रले राज्यका लागि के गर्यो ?’ विधायक कविताले भनिन्। –हिन्दूस्तान टाइम्सबाट