नोभेम्बर १५ मा पृथ्वीमा मानवको जनसंख्या ८ अर्ब पुग्नेछ
काठमाडौंः हामी, अर्थात् मानिस। वैज्ञानिक भाषामा होमो सेपियन्स। वास्तवमा मानव जाति जनसंख्या बढाउनमा खप्पिस छ। पृथ्वीमा मानिसको संख्या १ अर्बबाट २ अर्ब पुग्नका लागि १ सय २५ वर्ष लाग्यो। तर ७ अर्बदेखि ८ अर्ब पुग्नका लागि भने जम्मा १२ वर्ष लाग्ने भएको छ। अर्थात् आगामी नोभेम्बर १५ मा पृथ्वीमा मानिसको जनसंख्या ८ अर्ब पुग्दैछ।
मानिसको संख्या बढ्ने दरमा पछिल्लो केही दशकदेखि गिरावट आइरहेको छ। तर यसका बावजुत सन् २०३७ सम्म विश्वको जनसंख्या ९ अर्ब र सन् २०५८ सम्ममा १० अर्ब पुग्नेछ। संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ।
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषकी प्रमुख नतालिया कानेमका अनुसार यो घटना मानव इतिहासमा कोशेढुंगा साबित हुन गइरहेको छ। किनकी अब आमा र बच्चाको मृत्यु कम हुनेछ। आफूलाई मानिसको बढ्दो जनसंख्याप्रति कुनै डर नरहेको तर साधन श्रोतको खपत तीव्र रुपमा बढ्ने कुराको चाहिँ डर रहेको नतालिया बताउँछिन्। श्रोत साधनको उपयोगका विषयमा विश्वका सबै देशले ध्यान दिनुपर्ने र प्रजनन दर उच्च भएका देशहरु अझै सचेत बन्नुपर्ने उनको भनाइ छ।
विश्व वन्यजन्तु कोष तथा ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार जुन गतिले मानिसको जनसंख्या बढिरहेको छ, त्यो हिसाबले हाम्रो पृथ्वीको श्रोत साधन कम हुनेछ । अर्थात् पृथ्वीको श्रोतसाधनमा ७५ प्रतिशतको बढोत्तरी हुनुपर्नेछ। तर यस्तो हुनु सम्भव छैन।
संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी रिपोर्ट अनुसार बढ्दो हरितगृह ग्याँसको उत्सर्जनको मुख्य कारण भनेकै बढ्दो जनसंख्या हो। अर्कोतर्फ बढ्दो जनसंख्याले आर्थिक विकासमा कम मद्दत गरिरहेको छ।
संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रुपमा जनसंख्या वृद्धि हुनेछ। त्यसमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन्। सन् २०५० सम्ममा हुने जनसंख्या वृद्धिमध्ये आधा योगदान अफ्रिकाका सब सहारामा पर्ने देशबाट हुनेछ। एजेन्सी