बाजुरामा भूकम्पः १४ घर भत्किए
धनगढीः बुधवार गएको भूकम्पका कारण बाजुरामा १४ वटा घरका छाना पूर्णरुपमा भत्किएका छन्। खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टरको गएको भूकम्पले खप्तड राष्ट्रिय निकुञ्जसँगै रहेका बाजुराको खप्तड छेडेदह गाउँपालिका, बूढीगङ्गा, नगरपालिका लगायतका १४ घरछाना पूर्णरुपमा भत्किएका हुन्।
बाजुरा खप्तड छेडेदह २ कर्द बस्ने पृथ्वी बम, खडक थापा, विक्रम थापा, पारुदेवी रावल, प्रेम रावल राजबहादुर रावल, मनदेवी रावल शेरबहादुर रावल, विक्रम रावल, हस्त रोकाया बुढिगगा नगरपालिका ८ मोटावाडा बस्ने खगेन्द्र खड्का, तुलसी देवी दमाई, हिमाली गाउँपालिका ५ नन्दापाटा बस्ने जयारुप कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
त्यसैगरी बूढी नन्दा ७ मा रहेको सिद्धेश्वरी आवासीय आधारभूत विद्यालय र बडिमालिका नगरपालिका ८ मा रहेको बाजुरा क्याम्पसमा १० कोठे भवनसमेत चिराचिरा परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बताए। भूकम्पका कारण अहिले बाजुरामा चौपाया तथा मानवीय क्षति नभए पनि भौतिक रूपमा भने ठूलो क्षति भएको उनले बताए।