बझाङको खप्तडछान्नामा आँखा उपचार केन्द्र स्थापना
धनगढी: बझाङको खप्तडछान्ना गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ। च्यारिटी हेल्थ फाउन्डेसन नेपाल र गाउँपालिकाको सहकार्यमा खप्तडछान्ना आँखा उपचार केन्द्रको स्थापना गरिएको हो।
बुधबार गाउँपालिकाको वडा नम्बर ४ स्थित पसलबगरमा गाउँपालिका अध्यक्ष उत्तमबहादुर रोकाया र फाउन्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ नेत्र विशेषज्ञ डा. विद्याप्रसाद पन्तले संयुक्त रूपमा केन्द्रको उद्घाटन गरेका हुन्। च्यारिटी हेल्थ फाउन्डेसन नेपालले स्थानीय सरकारसँगको सहकार्यमा स्थापना गरेको यो १०औं आँखा उपचार केन्द्र रहेको बताइएको छ।
बझाङमा भने बुङ्गल आँखा उपचार केन्द्र पछिको दोस्रो हो। केन्द्रले धनगढी नेत्रालय आँखा अस्पतालको सहयोगमा टेलि मेडिसिन सेवाको समेत सुरुवात गरेको छ। आँखा उपचार केन्द्रको स्थापनासँगै आँखा शिविरको पनि आयोजना गरिएको थियो।
तीन दिने शल्यक्रिया शिविरको पहिलो दिनमा डा. विद्याप्रसाद पन्त नेतृत्वको टोलीले ३७४ जनाको निःशुल्क आँखा चेक जाँच गरेको थियो। त्यस्तै, ४० जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो भने १०४ जनालाई निःशुल्क नजिकको लेखपढ गर्ने चश्मा वितरण गरिएको थियो।