डडेल्धुरा प्रशासनले भन्यो - 'सागरलाई रोकेका छैनौँ, सुरक्षा दिन्छौँ'
धनगढी: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको भन्दै विज्ञप्ति निकालेको छ।
ढकालले आफूलाई चुनाव प्रचारप्रसारमा रोक लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा हारगुहार गरेपछि प्रशासनले उक्त दाबीको खण्डन गर्दै विज्ञप्ति निकालेको हो। कार्यालयद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको उल्लेख छ।
‘आगामी २०७९ मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाइएको व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आचार संहितामा व्यवस्था भए बमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरिने प्रचारप्रसारका कार्यक्रमहरूमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरूको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने ब्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’
यसअघि ढकालले सामाजिक सञ्जालमा प्रशासनले चुनावी प्रचारमा अवरोध गरेको बताएका थिए। प्रशासन कार्यालयले विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रहरी प्रशासनद्वारा प्रचारप्रसारमा रोक भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आज विज्ञप्ति जारी गरेको हो।