देउवाको चुनावी खर्चबारे अनुगमन गरिदिन सागर ढकालको माग
डडेल्धुरा: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। शुक्रबार आयोगलाई एक व्यक्तीले गोप्य राख्ने सर्तमा पठाएको निवेदनमा देउवाको खर्च अनुगमन गर्न माग गरिएको छ।
बिहीबार डडेल्धुरामा आयोजित चुनावी सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले ४७ वटा बस प्रयोग गरी ठूलो पैमानामा खर्च गरेको र यसको अनुगमन गर्न पत्रमा अनुरोध गरिएको छ। ढकालले उक्त पत्र सामाजिक सञ्जालमा सेयर गर्दै उक्त माग सम्बोधन गर्न आयोजलाई अनुरोध गरेका छन्।
‘मिति २०७९ कार्तिक १७ गते डडेल्धुरा बसपार्कमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभा सम्पन्न भएको छ। उक्त चुनावी आमसभाका लागि जिल्लाका विभिन्न स्थानहरुबाट स्थानीय जनताहरुलाई आउन र फर्किनका लागि ४७ वटा सवारी साधन परिचालन गरिएको छ’ आयोगमा बुझाएको पत्रमा भनिएको छ, ‘प्रायः सुनसान हुने होटलहरुमा ह्वात्तै चहलपहल बढेको छ। जिल्लाका विभिन्न चुनावी अभियानका नाउँमा खसी काटेर भोजभतेर समेत गरिँदै छ। साथै हेलिकप्टरको प्रयोग, रिसोर्टको बुकिङ्ग पनि गरिएको छ।’
यसरी यस्ता कार्यक्रमहरु गर्नका लागि निकै ठूलो रकम खर्च भएको र निर्वाचन आचारसंहिता उल्लंघन हुने उनको जिकीर छ। प्रधानमन्त्री देउवा यतिबेला गृहजिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा व्यस्त छन्। ढकाल देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्ररुपमा प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दैछन्।
निर्वाचन आयोगलाई सम्माननिय प्रधानमन्त्रीले गर्ने खर्च सम्बन्धी अनुगमन गरिदिनुहुन भन्दै निवेदन अनलाईनबाट गएको छ । @DkThapaliya pic.twitter.com/WtkOXN5Ieo
— Sagar Dhakal (@watersagar) November 4, 2022