कञ्चनपुरमा तीन पूर्वमन्त्री चुनावी मैदानमा
कञ्चनपुर: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा प्रतिनिधिसभाका तीनवटै निर्वाचन क्षेत्रमा पूर्वमन्त्री चुनावी मैदानमा रहेका छन्। सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बीना मगर चुनावी मैदानमा छिन्।
विसं २०७४ को निर्वाचनमा भारी मतले विजयी भएका उनी यसपटक अघिल्लो जीतलाई निरन्तरता दिने दाउमा छिन्। विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको समर्थनमा छ भने त्यो निर्वाचनका सारथी नेकपा (एमाले)का तर्फबाट तारा लामा तामाङ अहिले उनको प्रतिस्पर्धी छन्।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउद चुनावी मैदानमा छन्। विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित उनको दोस्रोपटक प्रतिस्पर्धा हुँदैछ। धामी जीतलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यसपटक देखिएका छन्।
विसं २०७४ को निर्वाचनमा धामीको समर्थनमा रहेको माओवादी यसपटक साउदको समर्थनमा छ। यसपटक माओवादीको समर्थनमा हारको बदला दिने दाउमा साउद छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा (एमाले) नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ।
अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतले पराजित भएका लेखक यसपटक सत्तागठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। उनका प्रतिस्पर्धी पाललाई यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ। रासस