अमेरिकी सभामुख पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्रमण
एजेन्सी: अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि घरभित्रै पसेर आक्रमण भएको छ। बिहान एकजना पुरुषले सन फ्रान्सिस्कोमा रहेको पेलोसीको घरमा पसेर आक्रमण गरेका बीबीसीले जनाएको छ।
घरभित्र पसेर सभामुख पेलोसी कहाँ छन् भन्दै कराएका व्यक्तिले पछि पेलोसीका श्रीमान् ८२ वर्षका पउल पेलोसीलाई आक्रमण गरेका थिए। आक्रमणकारी घरभित्र पस्दै गर्दा पउलले आकस्मिक नम्बरमा फोन गरेका र केहीबेरमा पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेका बीबीसीले जनाएको छ। पक्राउ पर्नेमा ४२ वर्षका डेभिड डेपापे रहेका छन्। आक्रमणको कारण नखुलेको र थप अनुसन्धान भइरहेको अमेरिकी प्रहरीले जनाएको छ।
आक्रमणबाट पउलको टाउको, पाखुरा र हातमा चोट लागेको छ। अस्पतालमा भर्ना भएका पउलको अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन्। पति पउलमाथि आक्रमण हुँदा सभामुख पेलोसी वासिङ्टनमा रहेको बीबीसीले जनाएको छ। राष्ट्रपति जो बाइडेनले आक्रमणको भर्त्सना गरेका छन्।