धनगढीको डिपो सार्न आयल निगमले जग्गा पाएन
धनगढीः धनगढीमा रहेको आयाल निगमको डिपोका कारण आगलागीको जोखिम छ। चटकपुरमा रहेको डिपो घनाबस्तीको बिचमा छ। डिपोमा आगलागी भए धनगढी सखाप हुने त्रास छ। जोखिम रहेको भन्दै डिपो सार्ने योजना भएपनि आयाल निगमले आवश्यक जग्गा पाएको छैन।
धनगढीको प्रादेशिक डिपो सार्न लामो समयदेखि नेपाल आयाल निगमले जग्गा खोजिरहेको छ। तर अझै टुंगो लागेको छैन। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ स्याउलेको सामुदायिक वनमा डिपोका लागि १२ बिघा जग्गा हस्तान्तरणको प्रक्रिया थालिएको आयल निगम धनगढीका प्रमुख रामकुमार न्यौपानेले बताए। तर जग्गाको स्वामित्व आयल निगमसँग अझै नआएको उनले बताए।
केन्द्रीय कार्यालयमार्फत हुने जग्गा हस्तान्तरणका लागि प्रक्रिया थालिएको हो। जग्गाको प्रारम्भिक अध्ययनका लागि बजेटसमेत विनियोजन गरिएको छ। आयाल निगमको सञ्चालक समितिले प्रारम्भिक अध्ययनको निर्णय गरेको हो। तर संघीय मन्त्रीपरिषदले जग्गा आयल निगमलाई दिने निर्णय अझै गरेको छैन। उनले भने, ‘कुनै काम भएको छैन। जग्गा हामीले पाएका छैनौ।’
पाँच वर्षअघि जग्गा खरिदका लागि प्रक्रिया सुरु गरिएको थियो। कैलाली–कञ्चनपुरका विभिन्न क्षेत्रको जग्गा हेरेको नेपाल आयल निगमले स्याउले खुटिया नदी किरानको सामुदायिक वन क्षेत्रमा डिपो सार्न नयाँ प्रक्रिया थालेको जनाएको न्यौपानेले बताए।
साढे तीन दशकअघि स्थापना भएको आयल निगम प्रादेशिक कार्यालय धनगढीको डिपो सानो भएको र वरीपरी घनाबस्ती रहेकाले आगलागीको खतरा छ। वरपरको बस्ती असुरक्षित रहेको र डिपोका लागि क्षेत्रफल सानो भएको भन्दै सार्ने योजना छ। २०७४ को पुषमा जग्गा खरिदका लागि टेण्डरसमेत गरिएको थियो। तर जग्गा पाइएको थिएन।
मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माणको काम सकिएसँगै आयल निगमलाई झनै समस्या भएको छ। सडकको क्षेत्राधिकार निगमको प्राङगणमै पुगेको छ। आयल निगम धनगढीका प्रमुख न्यौपानेले एक बिघ मात्र जग्गा भएकाले समस्या रहेको बताए।
हरेक वर्ष २० प्रतिशतका दरले पेट्रोलियम पदार्थको माग बढ्दै गएको अवस्थामा आयल निगम धनगढीमा रहेको डिपोको भने १५ लाख ९० हजार लिटर डिजल, ७० हजार लिटर पेट्रोल र २८ हजार लिटर मट्टीतेल क्षमताको छ। यसले तीन दिनका लागि पनि माग धान्न सक्दैन। क्षमता वृद्धिका लागि नेपाल आयल निगमले प्रादेशिक डिपो धनगढीबाट सार्न जग्गा पाएको छैन।