सुदूर नेपाललाई विश्वसँग जोड्दै

२८ करोड खर्चेर निर्माण गरिएको धनगढीको सभाहल सञ्चालनमा अन्योल

२०७९ कार्तिक १०, ०३:५२ कमल सावद

धनगढीः संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा निर्माण थालिएको धनगढीको सभाहल २८ करोडमा निर्माण पूरा भयो। गत असारमा निर्माण पूरा भएको सभाहल सञ्चालनका लागि कुनै पनि निकायलाई हस्तान्तरण गरिएको छैन।

स्थानीय तह वा प्रदेश सरकार कुन निकायलाई हस्तान्तरण गर्ने भन्ने विषयमा अन्योल देखिएको हो। सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर द्रोण कटुवालले सञ्चालनको मापदण्ड तयार नभएको बताए। उनले भने, ‘विभाग मापदण्ड बनाउदैछ। धनगढीसहित अन्य ठाउँमा पनि सभाहल निर्माण भएका छन। सबै सभाहल सञ्चालनका लागि मापदण्ड बनाउन थालिएको हो।’

धनगढीमा सभा हल (सिटी हल) निर्माणको सम्झौता बिकेवाई एमके रोयल जेबी र सरकारबीच २०७६ माघ २ गते भएको थियो। सभाहल निर्माणका लागि पटक–पटक समय थप गरिएकोमा गत असारमा का सकिएको हो।

धनगढी उप–महानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गर्ने भनिएको भएपनि अहिले मापदण्ड नभएको भन्दै हस्तान्तरण नगरिएको हो। उनले भने, ‘सञ्चालनका लागि कोलाई दिने भन्ने निर्णय भएको छैन। विभाग मापदण्ड बनाउदैछ। मापदण्ड बनाएपछि हामी सञ्चालनका लागि हस्तान्तरण गर्छाै।’

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ८ मा सभा हल निर्माण गरिएको छ। एक  बिघा क्षेत्रफलमा निर्माणा गरिएको सभाहलमा एक साथ करिब एक हजार जना अटाउने क्षमता छ। आपांगमैत्री बनाइएको हलको अन्डरग्राउण्ड पार्किङको सुविधा छ। मुख्य तथा अडिटेरियम सभा हलमा ७ सय जना अट्ने सेमिनार हल रहेको छ। सभाहल भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको उनले बताए।

निर्माण कम्पनीले सभाहल सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरेको छ। आयोजना कार्यान्वयन इकाले धनगढी उपमहानगरपालिका वा प्रदेश सरकार कुन निकायलाई हस्तान्तरण गर्नेमा अन्योल देखिएको हो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस