सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका नेताहरूलाई तिहारले छोएन, भोट माग्नमै व्यस्त 

जनता खेतीबारीमा, नेता घरदैलोमा

२०७९ कार्तिक ९, ०३:३० नारायण अवस्थी

धनगढीः मंसिर ४ गते हुने चुनावका कारण सुदूरपश्चिमका नेताहरू तिहारमा पनि चुनावी प्रचारमै व्यस्त रहेका छन्। सुदूरपश्चिमका संघ र प्रदेश सभा सदस्यका उम्मेदवार आफ्नो प्रचारमा व्यस्त रहेका हुन्। अरु वर्ष घरमै तिहार मान्न बस्ने नेताहरू यो वर्ष भने गाउँघरमा मतदाताको घरदैलोमा पुगेर भोट दिन आग्रह गरिरहेका छन्। 

तिहारमा सर्वसाधारण फुर्सदिला हुने भएकाले उम्मेदवारहरूले सबैसँग भेटेरै मत माग्न खोजेको देखिएको छ। मतदाताहरू खेतीपातीमा व्यस्त रहेका र मतदातासँग प्रत्यक्ष भेटेर तिहार मनाइरहेको कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार एवं नेकपा एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले बताए।

‘अहिले सर्वसाधारण खेतीपातीमा व्यस्त छन्, हामी पनि उहाँहरूसँग भेटघाट गरेर तिहार मनाइरहेका छौँ,’ उनले भने, ‘तिहारमा मतदातालाई भेट्ने र उहाँहरूसँग सुझाव सल्लाह माग्ने काम भइरहेको छ।’ यो वर्ष मंसिर ४ मा हुने चुनावका कारण प्रतिनिधि र प्रदेश सभा सदस्यका सबै उम्मेदवार तिहारमा पनि छुट्टीमा छैनन्। उम्मेदवार मात्रै होइनन्, नेता तथा समर्थकलाई पनि तिहारमा आफ्नो पार्टी र उम्मेदवारको प्रचार गर्न भ्याइनभ्याइ छ। तिहारमा सबै मतदाता फुर्सदमा हुने भएकाले उम्मेदवारहरू गाउँघरमै भेटघाट गर्दै भोट माग्ने र आफ्नो पक्षमा माहोल तयार गरिरहेका छन्।

डोटी जिल्लामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेको पनि तिहारमा यो वर्ष घर जाने फुर्सद छैन। उनले पनि आफू जनातासँग भेटघाट गर्दै तिहार मनाइरहेको बताए। ‘म हिजोदेखि जोरायल गाउँपालिकामा घरदैलो गरिरहेको छु,’ उनले भने, ‘यो वर्ष तिहारमा पनि घर गइन्न, जनतासँग भेट गर्दैछु।’

नेकपा माओवादीका प्रदेश इन्चार्ज खगराज भट्ट भने बिरामी भएका कारण उपचार गर्न काठमाण्डौंमा छन्। तर, उनले पनि आफू फोनबाट मतदाताहरूको सम्पर्कमै रहेको नेता भट्टले बताए। ‘म अहिले बिरामी भएकाले उपचार गर्न काठमाण्डौं आएको छु,’ उनले भने, ‘तर मतदातासँग भने निरन्तर सम्पर्कमै छु, फोनबाट जिल्लामा सबैसँग संवाद गरिरहेको छु।’

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं प्रदेश सभापति वीरबहादुर बलायर पनि चुनावी प्रचारप्रसारमै व्यस्त छन्। क्षेत्र नम्बर ४ मा पर्ने गौरीगंगा नगरपालिकामा घरदैलो गरिरहेका बलायरले तिहारमा विश्राम नगरेर मतदातासँग भेटघाट गरिरहेको बताए। 

‘म घर बसेको छैन, जनतासँग भेटघाट गरिरहेको छु,’ उनले भने, ‘मतदातासँग बोलाएको ठाउँमा गएर कुराकानी गरिरहेको छु।’ दार्चुलामा प्रतिनिधि सभाका लागि उम्मेदवार रहेका दीलेन्द्रप्रसाद बडू र गणेशबहादुर ठगुन्ना पनि तिहारमा भोट माग्दै घरदैलोमा व्यस्त छन्। अछामका प्रतिनिध र प्रदेश सभाका उम्मेदवारहरू पनि चुनावी मैदानमै भोट मागिरहेका छन्। 

बझाङका सबै उम्मेदवार पनि आआफ्नो प्रचारमै व्यस्त रहेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार नारदमुनि राना, काँग्रेसका उम्मेदवार डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहितका प्रदेश सभा सदस्यका उम्मेदवार पनि भोट माग्न मतदाताको घरदैलोमा छन्।

यस्तै बैतडीमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारीले पनि मतदातासँग भेटघाट गरिरहेको बताएका छन्। ‘हिजो मात्रै पुर्चौडी नगरपालिकामा मतदातासँग भोट मागेर पाटन पुगेको छु,’ उनले भने, ‘अहिले पनि मतदाताहरूसँग भेटेर सल्लाह सुझाव मागिरहेको छु। तिहारमा पनि हामी जनताको घरदैलोमा सुझाव र मत माग्दै भेटघाट गरिरहेका छौँ।’

कञ्चनपुरमा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखक र एनपी साउँद, नेकपा एमालेका निरूदेवी पाल, तारा लामा तामाङ, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलसहितका अन्य उम्मेदवार पनि घरदैलोमा व्यस्त छन्।

यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को (१) मा प्रदेश सभा सदस्यका उम्मेदवार रहेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, कैलाली १ को (२) का उम्मेदवार एवं आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावल, डडेल्धुरामा प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पनि घरदैलो गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भोट मागी रहेका छन्। यो वर्षको आम चुनावका कारण नेताहरू तिहारमा पनि चुनावी प्रचारमै व्यस्त छन्।


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस