डडेल्धुरा जिप दुर्घटना : चार जना धनगढी रेफर
धनगढी: डडेल्धुरामा भएको जिप दुर्घटनामा घाइते भएका चार जनालाई धनगढी रेफर गरिएको छ। डडेल्धुरा अस्पतालबाट चार जनालाई थप उपचारका लागि धनगढी पठाइएको हो।
डडेल्धुराको नवदुर्गा गाउँपालिका-४ की २३ वर्षीया इश्वरी रावल, गन्यापधुरा गाउँपालिका-५ का ११ वर्षीय सुरेन्द्र भुल, १६ वर्षीया रुपा भुल र गन्यापधुरा-५ कै रमेश पानलाई रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुको अत्तरियास्थित पदमा अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए।
त्यस्तै सामान्य घाइते भएका ७ जनामध्ये ५ जना डिस्चार्ज भइसकेका र बाँकी २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ। सोमबार साँझ जिल्लाको गन्यापधुरा गाउँपालिका–५ मेल भन्ने ठाउँमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको थियो। डडेल्धुरा जिल्ला सदरमुकामबाट रेल गाउँतर्फ गइरहेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका थिए।