ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने निश्चित
एजेन्सी: ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो।
प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गरेकी बीबीसीले जनाएको छ। कन्जर्भेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिए। गएको हप्ता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय समयअनुसार आज सोमवार ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो।
प्रधानमन्त्री बनेको ४५ दिनमै ट्रसको राजीनामा दिने घोषणापछि दलको नयाँ नेता छान्ने प्रक्रिया सुरु भएको थियो। पूर्व अर्थमन्त्री सुनक भारतीय मूलका बेलायती हुन्। सुनकले भोलि मङ्गलवार आधिकारिकरूपमा प्रधानमन्त्रीको पद सम्हाल्न सक्ने बीबीसीले जनाएको छ।