डडेल्धुरामा ‘नो इलेक्ट्रिसिटी, नो भोट’ अभियान : एमाले उम्मेदवार बाटोबाटै फर्काइए
धनगढी: डडेल्धुरामा गाउँमा बिजुली नपुर्याएको भन्दै एमालेका उम्मेदवारलाई बीच बाटोबाटै फर्काइएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–५ चामाका स्थानीयले मत माग्न गाउँ पुगेका एमालेका उम्मेदवारलाई बीच बाटोबाटै फर्काएका हुन्।
शनिबार चामा गाउँ पुगेका डडेल्धुरा प्रदेश ‘ख’ का उम्मेदवार गजेन्द्र शाहीलगायतको टिमलाई गाउँ पुग्न १०/१५ मिनेट लाग्ने ठाउँबाट फिर्ता पठाएको स्थानीय सुरेन्द्र बिष्टले बताए। बिजुली नपुगाउँदासम्म गाउँ प्रवेश गर्न नदिने भन्दै फिर्ता पठाएको उनले बताए।
शाहीले यस पटक आफूलाई विजयी गराए गाउँमा बिजुली पुर्याइदिने आश्वासन दिएको र स्थानीयको समस्या टिपोट गरेर लगेको बताइएको छ। स्थानीयले गाउँमा बिजुली नपुग्दासम्म कुनैपनि उम्मेदवारलाई गाउँ पस्न नदिने अठोट गरेका बताइएको छ।