सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा शीर्ष नेताहरुको एक स्वरः देश र संघीयता जोगाउन गठबन्धन आवश्यक

२०७९ कार्तिक ६, ०६:४५ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमबाट पाँच दलीय गठबन्धनलाई बढी मत दिन प्रधानमन्त्री देउवाले आग्रह गरेका छन्। पाँच दलीय गठबन्धनको प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले गठबन्धनलाई बढी मत दिन आग्रह गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमबाट गठबन्धनलाई सबैभन्दा बढी भोट दिलाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। गठबन्धनले सुदूरपश्चिमबाट बढी भोट ल्याए विकास गर्न बजेट ल्याउन र विभिन्न सरकारी नियुक्तिमा बढी भाग पाउने हुँदा गठबन्धनलाई जिताउनुपर्ने उनले बताए। 

‘संविधान सभामार्फत बनेको संविधानबाट गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको छ। यसलाई बचाउनका लागि सुदूरपश्चिमबाट सबैभन्दा बढी भोट हाल्न अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘गठबन्धनले बढी भोट पाए बजेट र राजनीतिक नियुक्तिमा पनि बढी भाग पाइन्छ।’ यस्तै भेलामा उपस्थित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनका उम्मेदवारहरूलाई जिताएर देशलाई अगाडि बढाउन सकिने बताएका छन्। 

प्रतिगमन हुन नदिन, संविधान, संघीयता गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि एक जुट भएर गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई मतदान गर्न नेताहरूले आग्रह गरेका हुन्। आफ्नो पार्टीलाई भोट हालेर अर्कोमा हाल्दैन भन्न नहुनेमा उनीहरुले जोड दिइएको थियो। सत्ता गठबन्धनको केन्द्रीय नीतिअनुसार देशैभर पाँच दलीय गठबन्धनले प्रदेशस्तरीय प्रशिक्षण भेला राखेको हो।

संविधानको रक्षा गर्दै संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षा गर्नुपर्ने आवश्यकताले गठबन्धन निर्माण भएकाले कुनै अप्ठ्यारो नमानेर गठबन्धनका उम्मेदवारलाई भोट हाल्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन्। ‘आफ्नोमा भोट हाल्ने, अर्कोमा भोट हाल्न अप्ठ्यारो मान्ने गरेको सुनिन्छ,’ उनले भने, ‘जुन दिन विस्तृत शान्ति सम्झौता हुँदै संविधान सभातर्फ गयौँ त्यहीँ दिन मैले रुखमा र गिरिजाप्रसाद कोइरालाले हँसिया हथौड़ामा भोट हालेको हो।’

धनगढीमा भएको भेलामा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपाल र काँग्रेस नेता रामचन्द्र पौडेलले भेलामा उपस्थित नेताहरूलाई गठबन्धनको मर्मअनुसार भोट हाल्न सचेत गराएका हुन्। देशलाई अगाडि बढाउन र प्रतिगमनको खतरा टार्न गठबन्धनलाई जिताउन नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले आग्रह गरेका छन्। 

‘म काँग्रेस हुँ, रुखबाहेक अरू देख्दिन भनेर हुँदैन त्यसैगरी म माओवादी हुँ, हँसिया हथौड़ा मात्रै देख्छु भनेर हुँदैन,’ उनले भने, ‘प्रतिगामी शक्तिलाई परास्त गर्न र देशलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई सबै मिलेर जिताउनु पर्छ।’ सत्ता गठबन्धनका शिर्ष नेताहरूले संविधान, लोकतन्त्र, संघीयता र गणतन्त्रको रक्षा गर्न गठबन्धनले जित्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस