भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना
एजेन्सी: भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ। भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो।
भारतको नियामक निकायका अनुसार गुगलले स्मार्टफोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बजारमा दबाब कायम गरेको छ। तर, अहिलेसम्म अमेरिकी कम्पनीले भारत सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन।
कम्पिटिशन कमिशन अफ इन्डिया ९सीसीआई०ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुगलले स्मार्टफोन, वेभ खोज, ब्राउजिङ र भिडियो होस्टिङ सेवाका दायराका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको इजाजतपत्र दुरूपयोग गरिरहेको छ।’
सीसीआईका अनुसार गुगलले स्मार्टफोन निर्माताहरूलाई युट्यूब, क्रोम, गुगल म्याप र अन्य एप राख्न दबाब नै दिँदै आइरहेको छ। यो प्रवृत्तिले बजारमा गुगलको एकछत्र राज चलिरहने र प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि गुगलकै एकाधिकार रहिरहने समेत नियामकले जनाएको छ।