इटालीकी पहिलो महिला प्रधानमन्त्री बनिन् मेलोनी
एजेन्सी: जर्जिया मेलोनीले शनिबार आफ्नो क्याबिनेट टोलीसँगै इटालीको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गरेकी छन्। उनको सरकार दोस्रो विश्वयुद्धपछि इटालीमा गठन भएको सबैभन्दा दक्षिणपन्थी सरकार हुनेछ।
राष्ट्रवादी ‘ब्रदर्स अफ इटाली’की प्रमुख मेलोनीको नेतृत्वको गठबन्धनले गत महिना भएको निर्वाचनमा जित हासिल गरेको थियो। सो गठबन्धनमा पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको नेतृत्वको पार्टी फोर्जा इटालिया र म्याटियो साल्भिनीको लिग रहेको छ।
‘म गणतन्त्रप्रति वफादार हुने कसम खान्छु,’ ४५ वर्षीय मेलोनीले राष्ट्रपति सर्जियो माटारेलासामु सपथ लिँदैं भनेकी थिइन्। उनको सरकार इटालीमा २२ वर्षयता गठन भएको १२ औं हो र यसले पूर्व युरोपेली केन्द्रीय बैंक प्रमुख मारियो ड्राघीको नेतृत्वमा रहेको राष्ट्रिय एकता सरकारलाई विस्थापित गर्नेछ।
नयाँ सरकार सामु बढ्दो मन्दी कम गर्ने, बढ्दो ऊर्जा खर्च र युक्रेन युद्धमा कसरी गठबन्धनलाई एक रुपमा प्रस्तुत गर्ने भन्ने चुनौती हुनेछ। मेलोनीले युक्रेनलाई समर्थन गर्ने वाचा गरिरहँदा गठबन्धनका अर्का नेता बर्लुस्कोनीले बारम्बार रुसप्रति सहानुभूति व्यक्त गरिरहेका छन् । यो साता पनि उनले युक्रेन युद्धको लागि कीभलाई दोष दिए। साथै उनले उनका पुरानो मित्र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट उपहार र ‘मिठा पत्र’ पाएको खुलासा गरे।
धेरै दिनको तनावपूर्ण र पर्दा पछाडिको वार्तापछि, मेलोनीले शुक्रबार आफ्नो टोलीको अनावरण गरेकी थिइन्। गठबन्धनका अन्य साझेदार दल लीग र फोर्जा इटालियालाई पाँच–पाँच मन्त्रीहरू दिएर उनले आफ्नो पार्टीका लागि नौ क्याबिनेट पद राखेकी छन्। २४ सदस्यीय क्याबिनेटका बाँकी सदस्य भने टेक्नोक्राट हुनेछन्। क्याबिनेटमा ६ जना मात्रै महिला छन्। –रोयर्टसबाट