कञ्चनपुरको बेलौरीमा शिक्षकहरूलाई लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण
कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा शिक्षकहरूलाई लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण दिइएको छ। बेलौरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बेलौरी क्षेत्र भित्रका माध्यमिक विद्यालयमा कार्यरत स्वास्थ्य शिक्षा विषय शिक्षकहरूलाई अभिमुखीकरण दिइएको हो।
मंगलबार शिक्षकहरुका लागि लागुऔषध नियन्त्रण तथा रोकथाम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको शिक्षा शाखाका प्राविधिक सहायक अमितप्रसाद भट्टले बताए। अभिमुखीकरण कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले लागुऔषध तथा मदिराको पछिल्लो अवस्था, प्रयोगकर्ताको तथ्याङ्क, असर, रोकथाम र नियन्त्रणका उपाय, नियन्त्रणमा देखिएका समस्या तथा चुनौती र विडम्बनाका सन्दर्भमा प्रकाश पारेका थिए।
लागुऔषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्द, नेपाल पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य प्रेमसिंह ठगुन्ना, सिद्धेश्वर जय पृथ्वी क्लबका अध्यक्ष पदम बहादुर शाहले लागुऔषध नियन्त्रण सम्बन्धी गरिरहेका गतिविधि र अनुभव सुनाएका थिए।
लागुऔषध नियन्त्रणका सवालमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक भण्डारीसहित लागुऔषध रोकथाम अभियानका सुदूरपश्चिम संयोजक मदन चन्द र नेपाल पूर्वप्रहरी सङ्गठनका केन्द्रीय सदस्य प्रेमसिंह ठगुन्नालाई कार्यक्रममा सम्मान पत्र प्रदान गरिएको थियो।
बेलौरीका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत लागुऔषध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए।