बैतडीमा भण्डारी ह्याट्रिक गर्ने दाउमा, गठबन्धनका कुँवर दोहरिएलान्?
धनगढी: बैतडीमा नेकपा एमालेका नेता दामोदर भण्डारी लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्यको चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन्। यस्तै गठबन्धनका साझा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता नरेन्द्रबहादुर कुँवर भने दोस्रो पटक निर्वाचित हुन सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन्।
गत बैशाखमा सम्पन्न स्थानीय तहको चुनावको मत परिणाम हेर्दा गठबन्धनले जित्न सक्ने देखिए पनि काँग्रेस नेता केसवबहादुर चन्दको स्वतन्त्र उम्मेदवारी गठबन्धनलाई भारी पर्न सक्ने अनुमान गरिएको छ। प्रतिनिधि सभातर्फ एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
बैतडीमा प्रतिनिधि सभातर्फ ११ जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार एवं प्रदेश अध्यक्ष दामोदर भण्डारी, गठबन्धनका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार केसवबहादुर चन्दबीच हुने आकलन गरिएको छ।
बैतडी काँग्रेसको जिल्ला र क्षेत्रीय कार्यसमितिले संघमा काँग्रेसले नै टिकट पाउनुपर्ने निर्णय गरे पनि त्यसको बेवास्ता गर्दै पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रलाई टिकट दिएपछि काँग्रेस बैतडी भित्र असन्तुष्टि रहेको नेताहरूले बताएका छन्। असन्तुष्ट पक्षको प्रतिनिधित्व गर्दै बैतडीको प्रतिनिधि सभातर्फ काँग्रेस नेता चन्दले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जसले गर्दा एमालेलाई चुनाव जित्न सहज भएको विश्लेषण गरिएको छ। सत्ता गठबन्धनका भोट विभाजित हुने र त्यसैको बलमा चुनाव जित्ने दाउ नेकपा एमालेको रहेको अनुमान गरिएको छ।
स्वतन्त्र उम्मेदवारलाई गठबन्धन र नेकपा एमालेले प्रतिस्पर्धी नठाने पनि मतदातामा चरम असन्तुष्टि रहेकाले आफूलाई मत दिएर जिताउने विश्वास स्वतन्त्र उम्मेदवार चन्दको छ। सबैको आग्रहमा स्वतन्त्र उम्मेदवार भएको बताउने चन्दले एउटा वामपन्थीलाई चुनाव हराउन अर्को वामलाई काध थाप्न नहुने तर्क गरेका छन्।
'केन्द्रीय नेताहरूले हाम्रो कुराको सुनुवाइ नगरेको हुनाले स्वतन्त्र उम्मेदवारी दिएर मत मागी रहेको छु, मैले जित्ने सम्भावना पनि छ,' उनले भने, 'काँग्रेसले माओवादीलाई समातेर पार लाग्न सकिन्न भन्ने हो, एउटा वामपन्थीलाई हराएर अर्कोलाई जिताउन पनि सकिन्न नि।'
सत्ता गठबन्धनका उम्मेदवार नरेन्द्रबहादुर कुँवरले अहिलेको गठबन्धन संविधानको रक्षा र देशको विकासका लागि भएकाले जनताले गठबन्धनलाई नै जिताउने विश्वास व्यक्त गरेका छन्। गठबन्धनका सबै उम्मेदवारलाई पार्टीभन्दा माथि उठेर नेता, कार्यकर्ता र सर्वसाधारणले भोट हाल्ने कुँवरले दाबी गरेका छन्। राजनीतिक प्रणालीको रक्षा गर्न बैतडीको समग्र विकासका लागि सचेत मतदाताले यो पटक गठबन्धनको पक्षमा मत हाल्ने दाबी कुँवरले गरेका छन्।
'यो गठबन्धन राजनीतिक गठबन्धन हो, राजनीतिक प्रणालीमाथि हमला भइराखेको छ,' उनले भने, 'संविधान र व्यवस्थाको रक्षाका लागि वाम- लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरूलाई जनताले जिताउँछन्।' गत स्थानीय तहमा बैतडीमा सबैभन्दा ठुलो दल भएको नेकपा एमालेले आफ्ना उम्मेदवारले जित्ने बताउँदै आएको छ।
स्थानीय तहको चुनावमा वडा अध्यक्षतर्फ ३५ हजार ४८ मत ल्याएर जिल्लामा पहिलो पार्टी बनेको एमालेले गठबन्धनका असन्तुष्ट मत तान्ने योजना बुनेको छ। सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न मतदाताले एमालेलाई भोट दिने विश्वास बैतडीका नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भणडारीको छ।
'सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने जुन प्रतिवद्धता छ नेकपा एमालेको, त्यो पूरा गर्न भोट माग्दै छौँ,' उनले भने, ' समाजवादको यात्रा तय गर्न र विगतका अधुरा काम पूरा गर्न बैतडीका मतदाताले यो पटक पनि नेकपा एमालेका उम्मेदवारहरूलाई मतदान गर्छन्।'
नेपाली काँग्रसेका प्रभावशाली नेता केसवबहादुर चन्दको स्वतन्त्र उम्मेदवारी सत्ता गठबन्धनका लागि टाउको दुखाइको विषय बनेको छ। तर माओवादी केन्द्रका नेता एवं गठबन्धनका उम्मेदवार कुँवरले स्वतन्त्र र बागी उम्मेदवारले पनि अन्तमा आएर गठबन्धनलाई नै सहयोग गर्ने दाबी गरेका छन्। एमाले उम्मेदवार भण्डारीलाई दुई-दुई पटक जिताएर पनि काम गर्न नसकेका कारण समग्र बैतडीको विकासका लागि आफूले नै यो पटक जित्नुपर्ने आधार बलियो रहेको कुँवरको भनाइ छ।
'अहिले पार्टीभन्दा माथि उठेर गठबन्धनलाई यो राष्ट्र,संविधान र प्रणालीको रक्षाका लागि सबैले मत हाल्नु हुन्छ भन्ने हाम्रो विश्वास छ, गठबन्धनको औचित्य र आवश्यकता बुझेर मतदाताले भोट दिने छन् र गठबन्धन सफल हुनेछ।' कुँवरले भने। नेकपा एमाले एक ढिक्का भएर चुनावमा प्रतिस्पर्धा गरिरहेकाले सहजै चुनाव जित्ने एमाले उम्मेदवारले तर्क गरेका छन्। गठबन्धनमा व्यापक असन्तुष्टि र सत्ता स्वार्थ रहेकाले नेपाली काँग्रेस र नेकपा माओवादीलाई आ-आफ्नो विचार र सिद्धान्तप्रति प्रतिवद्ध बनाउन पनि जनाताले एमालेलाई जिताउने ठोकुवा एमाले उम्मेदवार भण्डारीले गरेका छन्।
'बैतडीमा नेकपा एमालेले चुनाव जित्छ, काँग्रेस र माओवादीलाई आफ्नो संगठन, नीति र सद्धान्तमा विश्वास गराउन र आ-आफ्नो बाटोमा हिंडाउ पनि एमालेको विजय आवश्यक छ।' भण्डारीले भने। प्रतिनिधि सभाका लागि बैतडीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका देवबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीका कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीका कृष्णप्रसाद गोँसाई, जनता समाजवादी पार्टीका आनसिंह भण्डारी, स्वतन्त्र उम्मेदवार त्रिलोकबहादुर चन्द र मानसिंह विष्ट पनि उम्मेदवार रहेका छन्।
बैतडीमा स्थानीय तहका वडा अध्यक्षले पाएको मत परिणामलाई विश्लेषण गर्दा सत्ता गठबन्धले नेकपा एमाले भन्दा बढी भोट पाएको छ। एमालेलेका वडा अध्यक्षहरूले ३५ हजार ४८ मत ल्याउदा नेपाली काँग्रेसका वडा अध्यक्षहरूले ३३ हजार ६८३, माओवादीले १४ हजार ९९८, नेकपा समाजवादीले ३ हजार १४० र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४ सय मत पाएका थिए। तर प्रदेश र प्रतिनिधि सभाको चुनावमा स्थानीय तहको मत परिणाम विश्लेषणका लागि सहायक हुने भए पनि कसले चुनाव जित्छ भन्ने भविष्यवाणी गर्न सहयोगी नहुने तर्क गरिएको छ।
बैतडीमा नेपाली काँग्रेसका मत निर्णायक हुने अनुमान गरिएको छ। बलियो संगठन र जनाधार भएको नेपाली काँग्रेसले तुलनात्मक रुपले कमजोर ठानिएको माओवादी केन्द्रलाई निर्धक्क भोट दिए नरेन्द्रबहादुर कुँवर दोस्रो पटक चुनाव जित्ने छन्। उनले २०६४ मा पहिलो संविधान सभा चुनावमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीलाई पराजित गरेका थिए। तर काँग्रसे जस्तै बलियो संगठन र जनाधार भएको नेकपा एमालेले भने तेस्रो पटक दामोदर भण्डारीलाई जिताउने लक्ष्य लिएको छ। भण्डारीले दोस्रो संविधान सभा र २०७४ को चुनाव जितेका हुन् भने अहिले ह्ययाट्रिक हानेर इतिहास रच्ने दाउमा छन्। भण्डारीलाई स्वतन्त्र उम्मेदवार केसवबहादुर चन्दले जति बढी मत ल्याए उति नै सहज हुनेछ भने कुँवरलाई जित हात पार्न चन्दले निकै कम भोट ल्याउनु पर्ने हुन्छ। गठबन्धनको भोटमा हुने क्षतिले कसले हार्ने र कसले जित्ने भन्ने तय गर्नेछ।