डोटीमा आलेविरुद्ध उठेका खड्काको प्रतिबद्धताः दीपायलमा सुदूरपश्चिमको राजधानी !
धनगढीः डोटीमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका नरेन्द्र खड्काले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। उनले आइतबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
डोटीबाट सत्ता गठबन्धका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले, स्वतन्त्र उम्मेदवार खड्का र नेकपा एमालेबाट गौरी वली चुनावी मैदानमा छन्। उनीहरु प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा होमिएका हुन्।
यसैबेला चर्चित नेता आलेलाई टक्कर दिने दाबी गरिरहेका स्वतन्त्र उम्मेदवार खड्काले पेचिलो मुद्दालाई समावेश गरेर प्रतिबद्धतापत्र बनाएका छन्। उनले सुदूरपश्चिम प्रदेशको राजधानीमा आफ्नो मुख्य एजेण्डा भएको बताएका छन्।
उनले भनेका छन्, ‘डोटीबाट निर्वाचित नेताहरुले आफ्नै प्रतिबद्धताविपरीत गोदावरीको जंगलमा राजधानी बनाउन भोट हाले। उनीहरुले पदसँग डोटीको राजधानीको मुद्दा साँटे।’ तर, अब दुई तिहाइ बहुमत पुगाएर दीपायलमै राजधानी बन्नुपर्ने उनको दाबी छ। उनी राजधानीको मुद्दालाई अघि सारेर स्वतन्त्र रुपमा चुनावमा होमिएका छन्। तत्कालिन सुदूरपश्चिम सरकारले धनगढीमा अस्थायी राजधानी तोकेसँगै राजनीतिक दलसँग बिच्किएका खड्का निरन्तर संघर्षमा छन्।
सुदूरपश्चिम सरकारले प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरी तोकेपछि उनी डोटी राजधानीको माग गर्दै आन्दोलनमा समेत उत्रिएका थिए। डोटी उद्योग वाणिज्य संघको दुइ कार्यकाल महासचिव र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका नरेन्द्र खड्का डोटीमा लोकप्रिय छन्।