बैतडीमा भण्डारी भर्सेस ‘विजयसुन्दर’, को बलियो ?
धनगढीः बैतडीमा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट दामोदर भण्डारी र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) चुनावी मैदानमा छन्। उनीहरु २०६४ र २०७० मा पनि एक अर्काविरुद्ध उम्मेदवार रहेका थिए।
दुईपटक प्रतिस्पर्धा गरिसकेका उनीहरु यो तेस्रोपटकको भिडन्तका लागि तयारी गरिरहेका छन्। २०६४ सालमा कुँवरसँग पराजित भएका भण्डारीले २०७० मा कुँवरलाई हराएका थिए। अहिले यो पटकको चुनालाई भने यहाँ रोचक रूपमा हेरिएको छ।
पूर्व अर्थ राज्यमन्त्री समेत भइसकेका भण्डारी नेकपा एमालेका प्रदेश अध्यक्ष हुन् भने कुँवर माओवादीका पोलिट्ब्युरो सदस्य हुन्। २०७४ मा बाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारी नेपाली काँग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै प्रतिनिधि सभामा विजयी भएका थिए।
लगातार दुई पटकसम्म जित निकालेर भण्डारी अहिले पनि जितेर ह्याट्रिक गर्ने होडमा छन् भने कुवर ०७० सालको निर्वाचनमा हारको बदला लिने पक्षमा छन्। सत्ता गठबन्धनबाट प्रतिनिधि सभाका माओवादीलाई भाग लगाएर दुवै प्रदेश सभाको टिकट काँग्रेसले लिएको छ।
यता जिल्लामा उपस्थिति नै शून्य भएको भन्दै समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (क) मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको देखिएको किचलोको फाइदा उठाउँदै ह्याट्रिक गर्ने भण्डारीको रणनीति रहेको छ।
यता, गठबन्धनको मतका आधारमा आफू बलियो रहेको कुँवरको दाबी छ। वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा एमाले सबै भन्दा अगाडि लेखिन्छ। यहाँ एमालेको ३५ हजार ४८, काँग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ।