महेन्द्रनगर बजार जलमग्न
कञ्चनपुरः लगातारको वर्षाका कारण कञ्चनपुरको महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न भएका छन्। महेन्द्रनगरको मुख्य बजार मदन चोक क्षेत्र जलमग्न छ। बजार क्षेत्र जलमग्न भएपछि व्यवसायी समस्यामा परेका छन्। ढल निकास र गुरुयोजनाविपरीत भइरहेको बसोबासले महेन्द्रनगरको मुख्य बजार सामान्य झरीमै डुबानमा पर्न थालेको यहाँका व्यवसायी बताउँछन्।
यहाँका व्यवसायी यज्ञराज जोशीले पसल अगाडि जलमग्न हुँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको बताए। ‘ढल निकास नहुँदा मुख्य बजार नै डुबानमा पर्न थालेको छ’, उनले भने,‘पालिकाले ढल व्यवस्थापनमा ध्यान दिन जरुरी छ।’
भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पछिल्लो समय खोलानाला अतिक्रमण हुन थालेपछि बजार डुबानमा पर्न थालेको बताए। वर्षाले यहाँका बस्ती जलमग्न भए पनि अहिलेसम्म कुनै घटना नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘अहिलेसम्म ठूलो समस्या भएको सूचना आएको छैन।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले भने, ‘निरन्तर वर्षा भइरहेको छ, सबैले सचेत भएर बस्न जरुरी छ।’