बाजुरामा सवारी साधनको भाडादर तोकियो, बढी लिए कारबाही
धनगढी: बाजुरामा सवारी साधनको भाडादर तोकिएको छ। जिल्ला प्रशासन कार्यालय बाजुरामा बिहीबार बसेको बैठकले जिल्लाभित्र चल्ने सवारी साधनको भाडादर तोकेको हो।
मार्तडी, कोल्टी लगायतका ग्रामीण कच्ची सडकहरूमा सञ्चालन हुने सवारी साधनको लागि प्रति किलोमिटर १८ रुपैयाँ, ग्राभेल सडकका सवारी साधनका लागि प्रति किलोमिटर १२ रुपैयाँ र पिच सडकमा चल्ने सवारी साधनका लागि प्रति किलोमिटर ८ रुपैयाँका दरले भाडादर कायम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकन्द्रबहादुर विष्टले बताए।
स्थानीय तहभित्र मात्र सञ्चालन हुने सवारी साधनको हकमा भने सम्बन्धित स्थानीय निकायले भाडादर कायम गर्नुपर्ने बताइएको छ। यातायात व्यवसायी र प्रशासनको सहमतिमा भाडादर कायम गरिएको र तोकिएभन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।