सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलितालमा घर नक्सा पास अनिवार्य

२०७९ असोज ६, ०१:२० खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले घर तथा भौतिक संरचना निर्माण गर्दा नक्सा पास अनिवार्य गरेको छ। नक्सा पास नगरी भौतिक संरचना निर्माण गर्ने व्यक्ति तथा संस्थालाई कारबाही गर्ने निर्णय गाउँपालिकाले गरेको हो। 

कार्यपालिकाको बैठकबाट भएको निर्णयलाई गाउँपालिकाले एक सूचना जारी गर्दै आफ्नो क्षेत्रमा निर्माण भइरहेको तर नक्सा पास नभएका भवनलगायत भौतिक संरचनाहरूका लागि सो सूचना जारी गरिएको  गाउँपालिकाले बताएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले चालू आर्थिक वर्षको पुस मसान्तभित्र सम्बन्धित घरधनीहरूबाट दरखास्त आह्वान गरेर पेस भएका निवेदनमाथि छानबिन गरी अभिलेखीकरण गर्ने बताए।

भवन निर्माणका लागि पालिकाको स्वीकृत अनिवार्य रूपमा दिएर मात्र निर्माणकार्य सुरु गर्न पालिकाभित्रका सम्पूर्ण घरधनी तथा भवन निर्मातालाई  सूचित गरिएको हो।

घरधनीहरूलाई भविष्यमा सजिलो होस् भन्ने हेतुले घर नक्सा पास अनिवार्य गर्ने निर्णय गरिएको आलीताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताए। उनले बिनामापदण्ड घर निर्माण हुनाले विपत्तिका घटना बढ्ने भएकाले नियमपूर्वक घर निर्माण गर्न गराउन नक्सा पास अनिवार्य गरिएको बताए। 

पछिल्लो समय आलीताल गाउँपालिकालगायत अन्य पालिकामा व्यक्तिगत तथा समुदाय स्तरका पूर्वाधार निर्माण कार्य बढ्दो क्रममा छन्। 

कमेन्ट लोड गर्नुस