कञ्चनपुरमा भैँसीसँग अटो ठोक्किँदा तीन जना घाइते
धनगढी: कञ्चनपुरमा भैँसीसँग अटो ठोक्किँदा तीन जना घाइते भएका छन्। सोमबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ स्थित अर्जुनी व्यारेक नजिकै सुपप्र ०२ ००१ ह १८१६ नम्बरको अटो भैँसीसँग ठोक्किएको प्रहरीले बताएको छ।
दुर्घटनामा चालक शुक्लाफाँटा-७ का ४० वर्षीय पुना खत्री, अटोमा सवार सोही ठाउँकी ४० वर्षीया राजमती भट्ट र उनका २३ वर्षीय छोरा पुष्पराज घाइते भएका प्रदेश ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ। घाइतेहरुको शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार अचानक भैँसी सडकमा आउँदा अटोसँग ठोक्किएर अर्जुनी व्यारेक नजिकै दुर्घटना भएको हो। चालकलाई अटोसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।