अछाम पहिरोका घाइतेको उद्धार र बेपत्ताको खोजीमा जुट्न गृहमन्त्रीको निर्देशन
धनगढीः गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी घाइते तथा प्रभावितको उद्धार तथा बेपत्ताको खोजीमा जुट्न निर्देशन दिएका छन्। उनले घाइतेको उद्वारमा तत्काल हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।
गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकप्टरको व्यवस्था गर्न उनले निर्देशन दिएका हुन्।
उनले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे आज जानकारी लिएका छन्। उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जीउधनको रक्षा गर्नुभएको भन्दै बाढी र पहिरामा परी घाइते भएकाको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्थापनका लागि कुनै कसर बाँकी नराख्न र जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखी पठाउन निर्देशन दिएका छन्।
अछामको कमलबजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा विपद्मा परेर अहिलेसम्म १७ जनाको मृत्यु भएको छ। र २० जना घाइते भएको जानाकारी आएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।