सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या 

२०७९ भदौ २९, ०६:५५ नारायण अवस्थी

धनगढी: कैलालीको धनगढीमा डाक्टर गोविन्द केसीले सोमबारदेखि २०औं सत्याग्रह थालेका छन्।  स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता मानिएका केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका हुन्।

डाक्टर केसीले विभिन्न ७ वटा माग राखेका छन्। डाक्टर केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन। तर सत्याग्रही केसीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ। 

लामो समयसम्म पानी बाहेक अन्य खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए। ‘डाक्टर केसीको रगतमा सुगरको मात्रा ५६ देखिएको छ,’ उनले भने, ‘पानी बाहेक अरु नलिएकाले स्वास्थ्यका सबै प्यारामिटर खस्कदो अवस्थामा देखिएका छन्।’

मंगलबार दिउँसोसम्म सामान्य रहेको डाक्टर केसीको स्वास्थ्यमा रातिबाट भने समस्या देखिन थालेको हो। डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा घट्न थालेको छ भने पिसाबमा क्रेटिन बढेको मेडिकल रिपोर्टमा देखिएको छ। 

राति सुत्न नसक्ने, छिनछिनमा पिसाब लाग्ने, मांसपेशी अत्यधिक दुख्ने, बोल्नमा समस्या भएको जस्ता जटिलता देखा परेको डाक्टर केसीको रेखदेखमा रहेका डाक्टर अमृत जैशीले बताए। ‘उहाँमा मांशपेशी दुख्ने, बटारिने समस्या देखिन थालेको छ। हिजो राति राम्रोसँग सुत्न पनि सक्नुभएन,’ उनले भने। 

डाक्टर केसीले शुद्ध पिउने पानी बाहेक अन्य कुरा केही पनि नखाने अडान लिएका छन्। २० पटकसम्म सत्याग्रह बस्दा र बढ्दो उमेरका कारण धेरै लामो अनशनले स्वास्थ्यमा अनेक प्रकारका समस्या निम्तिने चिन्ता गरिएको छ। सत्याग्रह तत्काल रोक्न नसके डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखापर्ने डाक्टर कमरले बताए।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डाक्टर केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन। लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डाक्टर केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ। 


 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस