रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी
एजेन्सी: रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ। रुसले कब्जा गरेका बस्तीहरु फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।
“पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्वारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले भने। युक्रेनका सेनाले ती बस्तीहरु फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मीविरुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको दावी छ।
उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लीया लगायतका ठाउँहरू यसअघि नै फिर्ता गराइसकिएको युक्रेनको भनाई छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि दैनिक सम्बोधनका क्रममा आइतबार खार्किभ र डोनेत्स्क क्षेत्र पुरै, जापोरिझझीया, डिनिप्रोपेट्रोभ्स्क र सुमीको केही क्षेत्र फिर्ता लिइएको बताएका छन्।
फिर्ता गराइएका अधिकांश ठाउँमा अहिले विद्युत सेवा पनि सूचारु भइसकेको समेत उनले जानकारी दिएका छन्। युक्रेनले रुसद्वारा कब्जा गरिएका धेरै ठाउँ फिर्ता गराउने अभियानलाई तिव्रता दिइएको र सफलता पनि प्राप्त भइरहेको जनाएको छ।