चीनसँग सीमा जोडिएको बझाङको साईपालमा औषधि अभाव
धनगढीः चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको बझाङको दुर्गम साईपाल गाउँपालिकामा सिटामोललगायतका औषधिको अभाव भएको छ। गत वर्षमा खरिद गरिएका औषधिहरुको मौज्दात सकिएपछि गाउँपालिकाको काडा स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो।
साईपालमा औषधि सकिएपछि सामान्य विरामीहरुलाई पनि औषधि नदिएर चेकजाँच गरेर मात्रै घर पठाउने गरिएको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन्। सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दूरीमा रहेको गाउँपालिकामा खच्चर तथा भरियाबाट मात्र सामान ढुवानी गर्नुपर्ने अवस्था छ। वर्षायाम सुरू भएसँगै गाउँपालिका जोड्ने एकमात्र घोरेटो बाटो अवरुद्ध भएका कारण खाद्यान्न र औषधिलगायतका सामान अभाव भएको हो।
यता, गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले भने १२ लाख बराबरको औषधि खरिद गरेर खच्चरमार्फत गाउँपालिका पठाएको दाबी गरेका छन्। तीन दिनभित्रै गाउँपालिकाका सबै स्वास्थ्य संस्थासम्म औषधि पुग्ने उनको भनाइ छ।