सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ढुङगा बोक्दै मन्त्री र सांसदहरु, लास्कुको कटान रोक्ने प्रयास 

फोटोः किरण धामी
फोटोः किरण धामी
२०७९ भदौ २६, १२:२५ खबर संवाददाता

धनगढीः दार्चुलाको बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्री तथा सांसदरुले सक्रियता देखाएका छन्। विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले बाढीपहिरो प्रभावित क्षेत्रमा भावी जोखिम नियन्त्रणका लागि सक्रियता जनाएका हुन्। 

जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा शुक्रबार रातको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो मानविय र भौतिक क्षति भएको थियो। अहिले सो क्षेत्रमा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहितको टोली गएको छ। दार्चुला उनीहरुको गृहजिल्लासमेत हो। मन्त्रीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा राहत बोकेर शनिबार बेलुका नै बाढी पहिरोग्रस्त क्षेत्र पुगेको हो। 

उनीहरुले बाढीपहिरोमा ज्यान गुमाएका मानिसको परिवारलाई भेटेर सान्त्वना दिइरहेका छन्। बाढीपहिरोमा परेर अहिलेसम्म ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै आइतबार बिहानैदेखि मन्त्रीको टोली, सुरक्षाकर्मी र स्थानीयले महाकाली नगरपालिका–४ बाङ्गाबगरमा लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा तटबन्धन निर्माणका लागि ढुङगा बोकिरहेका छन्।

उनीहरु लास्कु खोलामा तटबन्धन निर्माण गर्न जुटेका हुन्। यस्तै प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, उपमेयर दुर्गा बिष्ट, नेकपा (एमाले) दार्चुलाका उपाध्यक्ष चरनसिंह बुढाथोकी, सचिव शेरसिंह धामी लगायत नेताहरु बाढीग्रस्त क्षेत्रमा जुटेका छन्। दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना पनि आइतबार संघीय राजधानीबाट गृहजिल्ला जाने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस