सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको समय सकियो, काम सकिएन

२ निर्माण कम्पनीलाई कारबाही गरिने

२०७९ भदौ २४, ०६:२१ कमल सावद

धनगढीः मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणका लागि २०७४ जेठ ६ गते सम्झौता भएको थियो। १४ किलोमिटर सडक निर्माणका लागि तीन खण्डमा काम सुरु भयो। पहिलो खण्डको असोज ४ गतेसम्म समय छ।  देस्रोको भदौ २४ (आज) समय सकिएको छ। तेस्रोको असोज १५ गतेसम्म समय छ। 

तर सडक निर्माणको काम ९६ प्रतिशत मात्र पूरा भएको छ। तेस्रो ठेक्कामा फुटपाथ निर्माण, सडकमा रङरोगन, साइनबोर्ड तथा भत्किएको सडक मर्मतको काम गर्न बाँकी रहेको छ।  ‘नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असारसम्म समय थप गर्न सकिने थियो,’ आयोजनाका प्रमुख रामबहादुर गुरुङले भने, ‘तर उहाँहरुले आफ्नो ग्यारेन्टी गर्नसक्नु भएन।’ दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि सम्झौता गरिएकोमा सडकको काम अझै पूरा नभएको छैन। योजना भने खारेज भएको छ। 

निर्माण कम्पनीलाई कारबाही 
अन्तिम पटकको समयमा पनि काम पूरा नगरेका निर्माण कम्पनीहरुलाई कारबाही गरिने भएको छ। थप गरिएको समयमा पनि सडकको काम पूरा नगरेका नागाअर्जुन निर्माण सेवा र राजेन्द्र निर्माण सेवालाई कारबाहीको तयारी थालिएको हो।

प्रमखु गुरुङले भने, ‘पटक–पटक ताकेता गर्दा पनि काम गर्नुभएको छैन। सचेतपनि गराएकै हो। अब भिरबाट लडेको गोरुलाई रामराम भन्न मात्र सकिन्छ। उहाँहरुको धरौटी तानिन्छ। बैँक ग्यारेन्टीबाट काम गरिन्छ।’  ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालो सूचीमा राख्न सिफारिस गरिने उनले बताए। 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस