सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको बाघखोरमा बाघ [फोटोफिचर]

२०७९ भदौ २२, ०४:४६ खबर संवाददाता

धनगढी: बुधबार डडेल्धुरा सदरमुकाममा बाघ देखा परेको छ। अमरगढी नगरपालिका–५ स्थित बाघखोरमा देखिएको बाघ हेर्न ठूलै जमघट लागेको छ। तर उक्त बाघ वास्तविक नभएर नक्कली रहेको छ।

अमरगढीकै खलंगावासीले हरेक वर्ष यसरी नै बाघ जात्रा मनाउने गरेका छन्। तर पछिल्लो ३ वर्षयता कोरोना संक्रमणको महामारीका कारण बाघ जात्रा भएको थिए।  यस वर्ष भने सदरमुकामका स्थानीय बासिन्दाले बाघजात्रा निकालेका छन्।

परम्परादेखि मनाइँदै आएको यो जात्रा पछिल्लो समय लोपको संघारमा पुगेको थियो। जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको खलंगा जात्रा संरक्षण समितिले जनाएको छ।

समितिका संयोजक श्याम सिनालले अहिलेलाई आफै रकम संकलन गरी जात्रा देखाएको तर सहयोगका लागि वडा कार्यालयमा पत्र दिएको बताए। जात्रामा बाघ, राजारानी, आर्मी, शिकारीलगायतको अभिनय गरिएको छ भने बागजात्रा हेर्ने स्थानीयको भिड लागेको उनले बताए। तत्कालीन बडाहाकिमलाई जाहेरी गर्ने र वडाहाकिमले बाघ मार्न आदेश दिने जस्ता प्रसंगलाई समेटेर स्थानीयले रमाईलो बाघजात्रा प्रदर्शन गर्ने गरेको उनले बताए। 

तत्कालीन समयमा डडेल्धुरा सदरमुकाम बाघखोर तथा वरपरको बस्तीमा बाघको आतंक हुने र बाघको भयबाट बच्न बाघलाई खोरमा हाल्ने योजना अनुरुप हालको बजार क्षेत्रमा खोर बनाई बाघलाई थुन्ने गरेको सम्झनामा यो जात्रा मनाइँदै आएको छ। बाघलाई खोरमा थुनेको ठाउँलाई बागखोर नामाकरण गरिएको छ। दिनभरी जात्रा देखाएपछि अन्तिममा सिडिओ कार्यालय पुगेर बाघलाई मारेर जात्रा टुगिंन्छ। 

 


 

कमेन्ट लोड गर्नुस