व्यवस्थापनको पर्खाइमा डडेल्धुराका मुक्त हलिया
डडेल्धुराः डडेल्धुराका मुक्त हलियाहरुले १४ वर्ष बित्दा पनि राज्यबाट व्यवस्थित बसोवास तथा आयआर्जनको समस्या हल नभएको बताएका छन्। १४औं हलियामुक्त दिवसको अवसरमा शनिबार डडेल्धुरा सदरमुकामा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्।
सरकारले व्यवस्थापन नगर्दा अहिले पनि हलियाकै जीवनशैलीमा बस्नुपरेको उनीहरुको गुनासो छ। यस्तै हलियाहरु मुक्त भएको अवस्थामा पनि व्यवस्थापनमा सरकार चुक्नु दु:खद रहेको हलिया महांसघका संस्थापक अध्यक्ष दानसिंह पालले बताए। त्यस्तै हलिया मुक्तको आन्दालेनका अभियानकर्ता तथा नेता भिम कैनीले पनि राज्यले हलियाहरु मुक्त गरेपनि उनीहरुको अवस्था र रोजगारी दिनेबारे नसोचेको बताए। आफूहरु सरकार र मुलुकबाट व्यवस्थापनको आशामा रहेको उनीहरुको भनाइ छ।
एफसीए, एकीकृत विकास समाज र हलिया महासंघ डडेल्धुराको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा उपस्थित अमरगढी–८ का अध्यक्ष नरबहादुर साँकीले हलियाभित्रै रहेका बलियाले गर्दा हलियाको अवस्था जस्ताको त्यस्तै रहेको बताए।
त्यस्तै वडा नम्बर ५ का अध्यक्ष टंकप्रसाद क्षेत्रीले मुक्त भएका हलिायका परिवारका बालबालिकाका लागि शिक्षा अनिवार्य भएको हुँदा त्यसका लागि आफनो वडा तथा नगरपालिकाबाट हुनसक्ने सहयोगमा भूमिका निर्वाह गर्ने बताए। यस्तै कार्यक्रमकी प्रमख अतिथि अमरगढी नगरपालिकाकी उपमेयर पार्वती झुकालले मुक्त हलियाहरुको व्यवस्थापनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोग गर्ने जनाएकी छन्।