बैतडीमा गर्भपतनको औषधि मेडिकलमा पाउन थालिएपछि कारबाही
बैतडीः गर्भपतन जस्तो संवेदनशील औषधिसमेत खुलेआम बिक्री गर्ने गरेको रहस्य सार्वजनिक भएपछि त्यस्ता औषधि जफत गरेर सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले यसरी नियमविपरीत औषधि बिक्री गर्ने र अनुमति नलिई पोलिक्लिनिक र ल्याब सञ्चालन गर्दै बिरामी भर्ना गरेर आफूखुसी उपचार गर्दै आइरहेका मेडिकल सिल गरेर कारबाही अघि बढाएको हो।
जिल्ला प्रशासन कार्यालय र स्वास्थ्यकर्मीसहितको संयुक्त अनुगमन टोलीले बैतडी सदरमुकामको दशरथचन्द नगरपालिका–१, २ र ४ मा सञ्चालित चारवटा मेडिकल, एउटा ल्याब र एउटा क्लिनिकमाथि कारबाही गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
दशरथचन्द नगरपालिका–२, देहिमाडौंमा रहेको निङ्लासैनी फार्मेसी, दशरथचन्द नगरपालिका–१, मुस्याचोरमा रहेका प्रकाश मेडिकल र जयदुर्गे मेडिकल हलले अनुमति नै नलिई ल्याब र पोलिक्लिनिक सञ्चालन गरेको पाइएकाले सिल गरिएको उनले बताए।
जफत गरिएका औषधि ग्रहण गर्दै जिल्ला अस्पताल बैतडीका डा. दिपेश श्रेष्ठले मेडिकलबाट गर्भपतनको औषधि खाएर अत्यधिक रक्तस्राव भएर बेहोस भएपछि गर्भवतीहरू अस्पताल आउने गरेको बताए।