नेपालमा विदेशी मुद्रा सञ्चिति किन घट्यो ? यस्तो भन्छन् उद्योगमन्त्री
धनगढीः नेपालमा विदेशी मुद्रा सञ्चिति घट्दै गएको उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले बताएका छन्। आयातको आकार बढ्दै गएकाले विदेशी मुद्रा घट्दै जानु चिन्ताको विषय भएको उनले बताए। नेपाल इँटा व्यवसायी महासंघको १४ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्न धनगढी आइपुगेका मन्त्री बडुले नेपाली अर्थतन्त्र खराब अवस्थाबाट जोगाउन निकै चुनौति देखिएको बताएका हुन्।
नेपालमा स्थापित १० वटा औद्योगिक क्षेत्रको उत्पादनको अवस्था समेत सन्तोषजनक नभएकाले आयातमा निर्भर बन्नु परिरहेको उनको दाबी छ। उनले भने, ‘भारतबाट आयात हुँदै आएको कोइला, भारतमै आपुर्ति गर्न समस्या भइरहेको अवस्थामा यहाँका इँटा व्यवसायीको उत्पादनमा त्यसको प्रत्यक्ष असर परेको देखिन्छ, तर जीटुजीमार्फत भएपनि कोइलाको सहज आपुर्तिका लागि सरकारले सोच बनाईरहेको छ।’
स्वदेशी उत्पादनको प्रयोग बढाउन सरकारले विदेशी वस्तुभन्दा १५ प्रतिशत मंहगो पर्ने भएपनि उपयोग गर्ने नीति लिएको मन्त्री बडुले बताए। निजी क्षेत्रबाट उत्पादनमुलक र निर्यात मुलक उद्योगका लागि उद्योगमैत्री नीति लिएको बताउँदै मन्त्री बडुले ३० वर्षका लागि लिजको लिएको जमिनको अवधि बढाएर ५० वर्ष पु¥याएको समेत दाबी गरे। ५० वर्षसम्म उद्योग सञ्चालकले मुनाफा आर्जन गरेर पुनः सरकारलाई नै सो जमिन फिर्ता गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ।
स्वदेशी उत्पादनलाई बढवा दिने विषयमा सरकार गम्भीर भएर त्यहीअनुसार नीति बनाउनेतिर समेत केन्द्रित छ। तर, यसका लागि निजी क्षेत्रबाट लगानी बढ्नु अपरिहार्य छ। इँटा व्यवसायीहरुले भने ७ प्रतिशतमा लिएको ऋणको ब्याज बढेर १४ प्रतिशत पुग्दा समेत सरकारले आफ्नो समस्याप्रति ध्यान नदिएको भन्दै प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।