बाजुरामा दशैँ अगावै अवरुद्ध सडक सञ्चालन गरिँदै
बाजुराः हिमाली गाउँपालिकाले वर्षामा अवरुद्ध हुँदै आएका ग्रामीण सडक दसैँ अगावै सञ्चालनमा ल्याउने भएको छ। हिमाली गाउँपालिकाका अधिकांश ग्रामीण सडक वर्षामा बाढी र पहिरोले अवरुद्ध हुँदै आएका थिए।
हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले, स्थानीयकै मागअनुसार गाउँमा निर्माण गरिएका ती ग्रामीण सडक बिग्रिएपछि अहिले ती सडकको मर्मत कार्य सुरु गर्दै दसैँ अगावै सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।
उनले भने, हिमाली गाउँपालिकाका सात वडा मध्य अधिकांश वडा सडकको पहुँचमा रहेका छन्। भने बाँकी रहेका वडामा समेत यो वर्ष सडक पुर्याउने लक्ष्य राखेको बताए। अधिकृत भण्डारीका अनुसार, मार्तडी कोल्टी सडक बर्खामा बन्द भए पनि कोल्टीदेखि हिमालीको धुलाचौरसम्म गाडी निरन्तर चल्ने गरेका हुन्। पानीले हिमालीको धुलाचौरदेखि गाउँ बस्तीका चल्ने केही सडक भने पानीले बिगार्दै आएपछि बन्द भएका थिए।
हिमाली गाउँपालिका वडा नं। –४ का स्थानीयको स्याउ र ओखरलाई बजारसम्म ढुवानी गर्न सहज हुने गरी १५ किलोमिटर सडकलाई पहिलो प्राथमिकतामा राखिएको छ। त्यो सडकलाई यो वर्षमा बीस लाख रकम विनियोजन पनि गरेको छ। यो सडकलाई बहुवर्षीय योजनाको रूपमा लैजाने भण्डारीले बताए।
हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले, विगतका पाँच वर्षमा खानेपानी, स्वास्थ्य शिक्षा, कृषि, सडक ठूलो परिवर्तन ल्याएका थियौँ। अबका पाँच वर्षमा पनि यी विषयलाई नै प्राथमिकता दिएर काम गर्ने योजना रहेको बताए।