सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवपुरी ज्योतिर्लिङ्ग धाममा मात्रै ५० हजार भत्तजनद्वारा दर्शन

२०७५ फाल्गुन २०, १०:५२ कमल सावद

हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व सोमवार हर्षोल्लासका साथ मनाएका छन्। फागुन कृष्ण चतुर्दशीलाई शिवरात्रि पर्वका रुपमा मनाउने गरिन्छ। शिवरात्रीको अवसरमा सुदूरपश्चिमका बिभिन्न शिवालयहमा सोमबार बिहानैदेखी दर्शनार्थीहरुको भिड लागेको थियो। कैलालीको बेहडाबावा, घोडाघोडी, धनगढीको शिवपुरी, जाखोरताल, पशुपती मन्दिर लगायत पहाडी जिल्लाहरुका शिव मन्दिर तथा शिवालयहरुमा सोमबार दर्शनार्थीहरुको घुईचो लागेको हो। 
सनातन हिन्दु धर्मावलम्बीहरुले सोमवार विहान ३ वजेदेखि नै नदी, कुण्ड तलाउमा स्नान गर्दै शिवालय र शिव मन्दीरहरुमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेका छन्। भगवान शिवको उत्पत्ती भएको मान्यताका साथ शिवरात्रीमा हिन्दू धर्मावलम्वीहरु विहानै स्नान गरी भगवान शिवको प्रीय बस्तु दूध, बेलपत्र र धतुरो चढाउँछन्। 
देशभरी जस्तै सुदुरपश्चिमका विभीन्न शिवालयहरुमा पनि सोमबार शिवरात्रीको अवसरमा दर्शनार्थीहरुको घुईचो लागेको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा मात्रै ५० हजार भक्तजनहरुले पुजापाठ गरेका छन्। एक सय ८ फिट अग्लो ज्योतिर्लिङ्ग, १ सय ८ तुलसी मठ, एक सय आठ गौमुखी धारा, नेपाल माताको मन्दिर, सूर्यनारायणको मन्दिर लगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहरको रुपमा रहेको शिवपुरी धाममा विहान ३ बजेदेखी नै दर्शनार्थीहरुको घुईचो लागेको थियो। 
करोडौका संरचना निर्माण भएसंगै धार्मीक पर्यटकीय क्षेत्रका रुपमा अगाडी बढिरहेको शिवपुरी धाममा विभिन्न धार्मीक कार्यक्रमहरु पनि सञ्चालन हुदै आएका छन्। धाममा कैलाली जिल्लाबाट मात्रै नभई सुदुरपश्चिमका पहाडी जिल्लाबाट पनि दर्शनार्थीहरु पुगेका थिए। छोटो समयमा शिवपुरी  धामका रुपमा विकास भईरहेको शिवपुरी धाममा पुगेका दर्शनार्थीहरु त्यहाँको माहोल र निर्माण गरीएका संरचना अवलोकन गरीसकेपछि उत्साहित छन्। शिवपुरी धाममा जोतिलिङग दर्शन र पुजाका लागि लाईनको व्यवस्था गरीएको थिया। भत्तजनहरुको निकै घुईचो भएकाले झण्डै ४० मिनेट देखी दुई घण्टाको हाराहारीमा दर्शन गर्न सक्ने अवस्था थियो। 
धनगढीकै पर्यटकीय क्षेत्र जाखौर तालमा पनि सधैका बर्ष जस्तै यसपाली पनि शिवरात्रीको अवसरमा मेला लागेको थियो। यस पर्वका दिन उपवास गरी रातभर जाग्राराम बसे यमलोक जानु नपर्ने धार्मिक विश्वासका साथ जाखौर तालमा रहेको शिव मन्दीरमा पुजाआजा गर्नेहरुको घुईचो लागेको थियो। यो पर्वको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन अनुसार जाखौर तालमा पनि सोही दृष्य देख्न सकिन्थयो । 
शिवरात्रीको अवसरमा विभिन्न शिवालयमा मेला र कार्यक्रमहरु राखिएकोमा दर्शनार्थीहरुलाई विभिन्न सुविधाका लागि शूल्क पनि लगाईएको थियो। लाईन लागेर दर्शन गर्दा निशुल्क दर्शन गर्न पाउने तर शुल्क तिरेर लाईन समेत नलागी दर्शन गर्न पाउने व्यवस्था गरिएको थियो। धार्मीक कार्यक्रममा पनि शुल्क तिर्नुपर्ने व्यवस्थापन भएपछि त्यस्को भने विरोध समेत भएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस